काठमाडौँ-तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट

काठमाडौँ-तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ –  काठमाडौँ–तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ । साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त दु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र आह्वान भई पुस १६ गते ‘सर्ट लिस्टिङ’ गरिने स्पष्ट पार्नुभयो । “सबभन्दा पहिले ‘प्रिक्वालिफिकेसन’का लागि बोलपत्र आह्वान गरिनेछ र रुचि देखाएका विदेशी कम्पनीहरूलाई सूचीकृत गरिनेछ,” उहाँले कार्यविधि स्पष्ट पार्दै भन्नुभयो, “प्रिक्वालिफाइड भएका कम्पनीहरूमध्ये ‘सर्ट लिस्टिङ’मा परेका कम्पनीहरूले माघभित्र आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गर्नेछन् र यस आर्थिक वर्षको असारसम्म निर्माण कम्पनीसँग सम्झौता गरी काम पनि सुरु गर्नेछन् ।”

त्यसैगरी साधारण पुल निर्माणका लागि यो वर्षको फागुनसम्म स्वदेशी निर्माण कम्पनी चयन भई सम्झौता भई काम सुरु भइसक्ने जानकारी सैनिक प्रवक्ता पाण्डेले दिनुभयो । द्रुतमार्गमा परेका कुल ८७ वटा पुलमध्ये अन्तर्राष्ट्रिय कम्पनीले विशेष प्रकृतिका १६ वटा पुल र तीनवटा टनेल निर्माण गर्नेछन् भने बाँकी पुलको निर्माण स्वदेशी कम्पनीले गर्नेछन् । साधारण प्रकृतिका पुलहरू निर्माणका लागि बोलपत्र आह्वान गर्न ‘डकुमेन्ट’ तयारीको काम भइरहेको छ । स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार द्रुतमार्गमा जम्मा ८७ वटा पुल प्रस्ताव गरिएकोमा १६ वटा विशेष प्रकृतिका रहेका छन् । त्यसैगरी तीनवटा टनेल प्रस्ताव गरिएको छ । विशेष प्रकारका पुल र टनेल निर्माणको जिम्मा विदेशी कम्पनीलाई मात्र दिनसक्ने नेपाली सेनाले स्पष्ट पारेको छ ।

परामर्शदाताका लागि बोलपत्र
विशेष प्रकृतिका पुल तथा टनेल निर्माणका लागि अबको चार दिनभित्र परामर्शदाता चयनका लागि बोलपत्र आह्वान हुने छ । गतवर्ष परामर्शदाताका लागि बोलपत्र आह्वान गरिएको थियो । नयाँ ‘डीपीआर’ स्वीकृत भएपछि द्रुतमार्गको डिजाइनमा भएका परिवर्तनका कारण सो बोलपत्र रद्द गरिएको हो । नेपाली सेनाका अनुसार अब चयन हुने परामर्शदाताले अहिलेसम्म भएका कामको अध्ययन गर्नुका साथै अब गरिने कामबारे सुझाव दिनेछ । एक अर्ब रुपियाँभन्दा बढीको परियोजनामा सरकारी नियमअनुसार विदेशी परामर्शदाता राख्नुपर्ने हुन्छ । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत गरेको थियोे ।

‘सब ग्रेड फर्मेसन’ सम्पन्न
प्रस्तावित द्रुतमार्गको ७२.५ किलोमिटर कुल लम्बाइ रहेको द्रुतमार्गमा पुल र टनेलको लम्बाइबाहेक जम्मा ५५.५ किलोमिटरमा सडक निर्माण कार्य भइरहेको छ । ५५.५ किलोमिटर सडकमध्ये २५.४४ किलोमिटरमा मुनिपट्टि ग्राभेल हालेर सडकको माथिल्लो सतहसम्म ल्याउने काम (सब ग्रेड फर्मेसन) सम्पन्न भइसकेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।