काठमण्डु – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेकी छन् ।
चार दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाण्डु आइपुगेकी सुमारले सिंहदरबारस्थित नेकपा एस संसदीय दलको कार्यालय पुगेर नेपालसँग भेटवार्ता गरेकी हुन् । सुमारसहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग भेटवार्ता गरेको हो ।
यसअघि उपाध्यक्ष सुमारको टोलीले आज नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो । भेटवार्तामा अध्यक्ष ओलीसँग उपाध्यक्ष सुमारले एमसीसी परियोजना पास गर्न आग्रह गरेकी थिइन् । जवाफमा अध्यक्ष ओलीले हतारिएर कुनै पनि पोजिसन नबनाउने बताएका थिए ।
‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ उनले भनेका थिए । एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । चार दिन काठमाण्डु रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया