एमसीसी उपाध्यक्षलाई माधव नेपालको जवाफ : राष्ट्रहितभन्दा फरक तरिकाले जान सक्दैनौं

एमसीसी उपाध्यक्षलाई माधव नेपालको जवाफ : राष्ट्रहितभन्दा फरक तरिकाले जान सक्दैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी लागू गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रहितभन्दा फरक तरिकाले जान नसकिने बताएका छन् ।

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भएको भेटवार्तामा नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका हुन् ।

भेटमा नेता नेपालले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी नेकपा एसका नेता गंगालाल तुलाधारले जानकारी दिए ।

‘चार वर्षदेखि थाँती रहेको विषय छ यो । अहिले हामी संयुक्त सरकारमा हौँ । हामीसँग मात्र होइन, अरू पार्टीसँग पनि कुरा गर्नुहोस्’, नेपालको भनाइ उद्धृत गर्दै नेता तुलाधरले भने, ‘यो नेपाली जनतासँग जोडिएको बिषय हो । नेपाली जनताको हितमा छ भन्ने कुरा अहिले तपाईंहरू आएका बेला सुनिश्चित हुन पाओस् ।’

उनका अनुसार भेटवार्तामा आफूहरूले सुमारलाई एमसीसीबारे धेरै प्रश्नहरू गरेको र तीबारेमा उनले स्पष्ट पार्न कोसिस गरेकी थिइन् ।  उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वार्थका लागि नभएको दाबी गरेकी थिइन् ।

‘एमसीसी कार्यान्वयन गर्नुहुन्छ, त्यो तपाईंहरूको हितमा छ, गर्नुहुन्न, त्यसले कुनै अहित गर्दैन । हामी दबाब दिन यहाँ आएका होइनौँ’, उपाध्यक्ष सुमारले नेता नेपाललाई भनिन् ।

भेटवार्तामा एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्छ भनेर नेता नेपालले जोड दिएका थिए । ‘एमसीसीबारेमा जे खालका भ्रम उत्पन्न भएका छन्, त्यो हामीबाट मात्र नभएर तपाईंहरूबाट पनि भएको छ । स्वयं अमेरिकी सरकारका जिम्मेवार व्यक्तिले दिएका अभिव्यक्तिबाट एमसीसीबारे भ्रम फैलाइएको छ’, नेता नेपालले सुमारलाई भनेका थिए ।

उपाध्यक्ष सुमारले नेता नेपाललाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन् । भेटवार्तामा अध्यक्ष ओलीसँग उपाध्यक्ष सुमारले एमसीसी परियोजना पास गर्न आग्रह गरेकी थिइन् । जवाफमा अध्यक्ष ओलीले हतारिएर कुनै पनि पोजिसन नबनाउने बताएका थिए ।

‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ उनले भनेका थिए । एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । चार दिन काठमाण्डु रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।