काठमाण्डु- फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि मात्र अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा भएको एक गोलीकाण्डमा नौ जना घाइते भएका छन्।
यो घटना इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीले विश्वकप अवधिभर प्रयोग गर्ने तय भएको प्रशिक्षण केन्द्र नजिकै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। क्यान्सस सिटी प्रहरीका अनुसार शनिबार भएको यस घटनाका घाइते सबै नौ जनाको अवस्था खतरामुक्त रहेको छ। घाइतेमध्ये कम्तीमा तीन जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
घटनामा संलग्न व्यक्तिको खोजी र अनुसन्धान जारी रहे पनि हालसम्म कुनै संदिग्धलाई पक्राउ गरिएको छैन। गोलीकाण्ड इङ्ल्यान्डको बेस क्याम्पका रूपमा तोकिएको स्वोप सकर भिलेजु प्रशिक्षण केन्द्रबाट करिब चार माइलको दूरीमा भएको हो।इङ्ल्यान्ड टोली भने हालसम्म क्यान्सस सिटी पुगिसकेको छैन। टोलीले विश्वकपअघि फ्लोरिडाको ओर्लान्डोमा कोस्टारिकाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
यस घटनाका बारेमा इङ्ल्यान्ड फुटबल सङ्घ एफएले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ। यो घटनाले अमेरिकामा बढ्दो बन्दुक हिंसाको सुरक्षा चुनौतीलाई पुनः बहसमा ल्याएको छ। गन भायोलेन्स आर्काइभको तथ्याङ्क अनुसार सन् २०२५ मा मात्रै अमेरिकामा ४०० भन्दा बढी सामूहिक गोलीकाण्डका घटनाहरू दर्ता भएका थिए।
सन् १९६६ मा पहिलो तथा एकमात्र विश्वकप उपाधि जितेको इङ्ल्यान्ड यस पटक दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। टोलीमा कप्तान ह्यारी केन, जुड बेलिङ्घम, डिक्लन राइस, जोर्डन पिकफर्ड र बुकायो साका जस्ता अनुभवी खेलाडीहरू रहेका छन्। साथै टोलीमा कोबी माइनु, मोर्गन रोजर्स र टिनो लिभ्रामेन्टो जस्ता युवा प्रतिभाहरूलाई पनि समावेश गरिएको छ।
विश्वकप २०२६ मा इङ्ल्यान्ड समूह एल मा रहेको छ, जहाँ उसले क्रोएसिया, घाना र पनामाको सामना गर्नेछ। टोलीले जुन १७ मा डलासमा क्रोएसियाविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियानको सुरुआत गर्नेछ।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यस विश्वकपमा ४८ राष्ट्रका १ हजार २४८ खेलाडीले कुल १०४ खेलमा प्रतिस्पर्धा गर्नेछन्।




प्रतिक्रिया