नेपाली दर्शकले फिफा विश्वकप २०२६ हेर्न झन्डै दोब्बर शुल्क तिर्नुपर्ने

नेपाली दर्शकले फिफा विश्वकप २०२६ हेर्न झन्डै दोब्बर शुल्क तिर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आउँदो बिहीबारदेखि सुरु हुने फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण हेर्न नेपाली दर्शकले यस पटक अघिल्लो संस्करणको तुलनामा झन्डै दोब्बर शुल्क तिर्नुपर्ने भएको छ। सन् २०२२ को कतार विश्वकप हेर्न करसहित ५६५ रुपैयाँ तिरेका दर्शकले यसपटक टेलिभिजनमार्फत खेल हेर्न ९९९ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

नेपालका लागि विश्वकप २०२६ को विशेष प्रसारण अधिकार एसप्रो मिडिया प्रालिले खरिद गरेको छ। कम्पनीले टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स र डिजिटल प्रसारणका लागि डीगो एपसँग सहकार्य गरेको जनाएको छ।

डीगो एपमार्फत खेल हेर्न चाहने दर्शकका लागि एक डिभाइसको शुल्क ५४९ रुपैयाँ तथा दुई डिभाइस (एक मोबाइल र एक वेबसाइट) मा हेर्न ९९९ रुपैयाँ निर्धारण गरिएको छ।

एसप्रो मिडियाका अध्यक्ष सोम धितालले प्रसारण अधिकार, रोयल्टी तथा प्रविधि व्यवस्थापनमा करिब ४५ देखि ५० करोड रुपैयाँ खर्च भएकाले शुल्क बढाउनुपरेको बताए। उनका अनुसार यस पटक विश्वकपमा सहभागी टोली र खेलको संख्या बढेको छ भने डलरको विनिमय दर तथा प्रविधि प्रयोगको लागत पनि उल्लेख्य रूपमा बढेको छ।

सन् २०२२ मा ५६५ रुपैयाँमा सबै खेल देखाएका थियौँ। यस पटक खेल र टोलीको संख्या बढेको छ। डलरको मूल्य वृद्धि र प्रविधि खर्च बढेकाले ९९९ रुपैयाँ शुल्क कायम गर्नुपरेको हो धितालले भने।

भारतको तुलनामा नेपालमा शुल्क महँगो देखिए पनि बजारको आकार र विज्ञापन आम्दानीमा रहेको ठूलो अन्तर यसको मुख्य कारण भएको प्रसारकको दाबी छ। धितालका अनुसार नेपालको विज्ञापन बजार निकै सानो भएकाले न्यूनतम लागत उठाउन समेत चुनौती रहेको छ।

यता सामाजिक सञ्जालमा भने दर्शकहरूले शुल्क वृद्धिप्रति असन्तुष्टि जनाइरहेका छन्। विदेशी च्यानलको शुल्क पहिले नै तिरिसकेको अवस्थामा विश्वकपका लागि छुट्टै शुल्क लिनु उपभोक्तामैत्री नभएको उनीहरूको तर्क छ।

विश्वकपको समूह चरणमा केही दिन एकै समयमा दुई खेल सञ्चालन हुने भएकाले टेलिभिजन दर्शकमा अन्योलता देखिएको छ। यसबारे स्पष्ट पार्दै धितालले डीगो एपमा सबै खेल उपलब्ध हुने र केही खेल हिमालय टेलिभिजनमार्फत निःशुल्क प्रसारण हुन सक्ने बताए। अन्य खेल भने हिमालय स्पोर्ट्स च्यानलबाट प्रसारण गरिनेछ।