चलचित्रकर्मीको आह्वान : नागरिक सरकार गठन र नयाँ निर्वाचन गरौं

चलचित्रकर्मीको आह्वान : नागरिक सरकार गठन र नयाँ निर्वाचन गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबारदेखि जारी जेनजीको आन्दोलनप्रति चलचित्रकर्मीले समर्थन जनाएका छन् ।

मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको बर्बर दमन र नरसंहारले चलचित्रकर्मीको हृदय छियाछिया भएको पनि जनाएका छन् ।

‘देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आह्वानमा भदौ २३ गते भएको विशेष आन्दोलनप्रति देशमा हामी चलचित्रकर्मीहरू पूर्ण समर्थन गर्दछौं । शान्तिपूर्वक भइरहेको आन्दोलन दबाउन सरकारद्वारा गरिएको बर्बर दमन र १९ जनाको ज्यान जाने गरी भएको नरसंहारले हामी चलचित्रकर्मीको हृदय छियाछिया भएको छ । जेनजीका मागहरू सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग हामी आह्वान गर्छौं । देशको राजनीतिक रूपान्तरणको यो संवेदनशील क्षणमा हामी सबैले धैर्यताका साथ देश हितमा शान्तिपूर्वक र समाधानमुखी कदम चाल्नुपर्ने आवश्यकता रहन्छ । अब सबै पक्षबीच सरसल्लाह गरी नागरिक सरकार गठन गरेर शान्ति सुव्यवस्था कायम गरी नयाँ निर्वाचनको तयारी गर्नुपर्छ । साथै जेनजी आन्दोलन दबाउन भूमिका खेल्ने सम्पूर्ण पक्षलाई विशेष छानबिन आयोग गठन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ । अहिलेको मुख्य समस्या रहेको भ्रष्टाचार रोक्न विशेष अधिकारको आयोग बनाउन तत्काल निर्णय गर्न पनि आग्रह गर्दछौं । जेनजीको आन्दोलन सफलताको वाटोमा अगाडि बढिसकेको हुँदा अब राष्ट्रिय सम्पत्तिहरूको तोडफोड र नास नगर्न हामी अनुरोध गर्दछौं । आन्दोलनको क्रममा सरकारले गोली हानेर मारिएका सबै युवाहरूप्रति हार्दिक श्रद्धाञ्जलि तथा घाइतेहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

चलचित्रकर्मी मनोज पण्डित, नविन सुब्बा, दयाहाङ्ग राई, निश्चल बस्नेत, अविरल थापा, साम्पिय राज तिमल्सिना, रामकृष्ण पोख्रेल, गणेशदेव पाण्डे, अनुप बराल, सुरक्षा पन्त, केकी अधिकारी, रिचा शर्मा, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, केपी पाठक, सचिन घिमिरे, दिपेन्द्र खनाल, विनोद पौडेल, दिपक रौनियार, निरोज महर्जन र पुरेन्दु झाले आह्वान गरेका छन् ।