यसकारण प्रदर्शनमा छैनन् मङ्सिर र पुसमा नेपाली फिल्म


काठमाण्डु – आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् ।

निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउँछन् । ‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुनसक्छ’, वितरक श्रेष्ठले भने ।

नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गर्ने कलाकार रवीन्द्र सिंह बानियाँ बताउँछन् । निर्मातासमेत रहेका बानियाँले आफूले निर्माण गरेको फिल्म ‘महापुरुष’ कात्तिकमै प्रदर्शन तोकिएको बताए ।

‘यस अगाडि पनि पुसमा खासै फिल्म रिलिज हुन्थेनन् । मङ्सिरमा भने निर्वाचन र विश्वकपले नै असर गरेर रिलिज नभएका हुनसक्छ,’ कलाकार बानियाँले भने, ‘पछिल्ला केही घटनाले विदेशी ठूला फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली निर्माता तयार देखिँदैनन् । हामी प्राथमिकतामै परिरहेका छैनौँ ।’

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले कोरोना महामारीका कारण रोकिएका फिल्म एकसाथ प्रदर्शनमा आउँदा भिडभाड देखिएको बताए । उनी भन्छन्, ‘दसैँ तिहारमा नेपाली फिल्मको भिडभाड छ । त्यसपछि मङ्सिर र पुस खाली झैँ छ । माघे सङ्क्रान्तिसँगै नेपाली फिल्मले प्रदर्शन तय गरेका छन् । वितरकसँगकको सल्लाहपश्चात यो गरिएको हुनसक्छ ।’

केही समययता मल्टिप्लेक्सले नेपाली फिल्मलाई प्रदर्शन गर्न नदिएको र समयमै प्रदर्शन अनुमति नखोलेको आरोप फिल्मकर्मीले लगाउने गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रदर्शनमा आउने नपाउनेसँग आफूहरूको कुनै सरोकार नहुने बताउँछन् ।

‘देखिरहेको समस्या सुन्ने निकाए हामी नै हो । यद्धपि हामीले नीतिगत रुपमै यसको समधान गर्नुपर्छ । बोर्डसँग रहेको अधिकार बाहेक भावनात्मक भएर हामीले केही गर्न सक्दैनौँ र हुँदैन’, अध्यक्ष केसीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement