काठमाण्डु – नेपाली चलचित्रसँग सम्बन्धित तीन अवार्ड समारोह हुने भएको छ। आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते आठौँ सिने सर्कल अवार्ड–२०८२, भदौ २८ गते दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) र चलचित्र समीक्षक समाजले प्रदान गर्ने क्रिटिक्स अवार्ड आयोजना हुनेछ।
पुरस्कारले चलचित्रकर्मीलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन् । सिने सर्कल नेपालद्वारा आयोजित समारोहमा २५ विधामा पुरस्कार प्रदान गरिने आठौँ सिने सर्कल अवार्ड २०८२ को संरक्षक चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरी रहेका छन्।
चलचित्र समीक्षक तथा पत्रकारहरूको छाता संस्था चलचित्र समीक्षक समाजले केही वर्षदेखि रोकिएको क्रिटिक्स अवार्डलाई पुनः निरन्तरता दिने भएको हो।
उक्त पुरस्कार नौ विधामा प्रदान गरिनेछ । इन्फा इभेन्ट्स युके र इन्फा नेपालको आयोजना तथा मनु मिडियाको सहकार्यमा बेलायतस्थित लण्डनको ग्रिनफोर्ड हलमा भाद्र २८ मा दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा) आयोजना हुने कार्यक्रम संयोजक मनिष कार्कीले बताए।
२६ विधामा पुरस्कार वितरण गरिने र अभिनेत्री शर्मिला मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने छ ।




प्रतिक्रिया