घरजग्गा र गाडीमा मात्र लगानी केन्द्रित गर्ने हो भने त्यसको कुनै अर्थ छैन: अर्थमन्त्री

घरजग्गा र गाडीमा मात्र लगानी केन्द्रित गर्ने हो भने त्यसको कुनै अर्थ छैन: अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसका अवसरमा अर्थमन्त्री शर्माले बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको बताउँदै आपत्ति जनाएका हुन् ।

घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको बताउँदै मन्त्री शर्माले सोधे, ‘तपाईंहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।” उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुलाई आग्रह गरे ।

‘तपाईंहरुका कुनै समस्या छन् र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु,’ मन्त्री शर्माले भने, ‘तपाईंहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।’ सहकारीहरूले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए ।

कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठीबास लगाएका घटनाहरू देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे । उनले सहकारीका संस्थापकहरूले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरिकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा ४ हजार प्रारम्भिक संस्थाहरू तथा प्रदेश र जिल्ला बचत सङ्घहरूमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरूमा ३४ लाख व्यक्तिगत सदस्यहरू आबद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।