काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले एमसीसी नेपालमा लागू गर्ने वा नगर्ने भन्ने विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताएका छन् ।
अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसँग शनिबार भएको भेटवार्तामा अर्थमन्त्री शर्माले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको भन्दै तत्काल कुनै निर्णय लिन नसकिने बताएका हुन् ।
भेटमा उपाध्यक्ष सुमारले एमसीसी कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेपछि मन्त्री शर्माले सो जवाफ दिएको अर्थ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘उपाध्यक्ष सुमारले एमसीसी कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो । नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ’, मन्त्री शर्माको भनाई उदृत गर्दै अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
बिहीबार चार दिने भ्रमणका क्रममा काठमाण्डु आइपुगेको उपाध्यक्ष फतिमाको टोलीले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमलोका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा मन्त्री पम्फा भुसाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपवेन्द्र यादव लगायत शीर्ष नेतासँग भेटवार्ता गरिसकेको छ ।
छलफलका क्रममा अधिकांश नेताले एमसीसीबारे देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया