अर्थमा कृष्णहरी र राजस्व सचिवमा दंगालले पाए जिम्मेवारी


काठमाण्डु — सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले राजस्व सचिव रहेका पुष्करलाई अर्थमा र रामेश्वर दंगाललाई राजस्व सचिवको जिम्मेवारी दिने निर्णय भएको वनमन्त्री प्रदिप यादवले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको चाहंनामा पुष्करलाई अर्थमा ल्याइएको हो । यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी दिइएको थियो ।

अर्थसचिवको जिम्मेवारी पाएका पुष्कर एक वर्षअघि देखि राजस्व सचिवको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सहसचिव हुंदा महानिर्देशक, विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र दिल्लीस्थित इकनोमिक काउन्सिलरको जिम्मेवारी सम्हालेका थिए ।

२०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्करले श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गर्दा उनले निकै प्रशंसा बटुलेका थिए ।

हक्की स्वभावका उनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत प्रवक्ताको जिम्मेवारीमा थिए । पुष्करको गृहप्रशासनतिर राम्रो दखल छ । अमेरिकाबाट अध्ययन गरेका पुष्करसंग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको अनुभव छ ।

राजस्व सचिवमा आएका दंगाल राजस्वकै क्याडर हुन् । उनको यस क्षेत्रमा विशेष दखल छ । उनि गत पुषमा मात्र सचिवमा बढुवा भएका थिए । दंगालले पनि राजस्व महाशाखा र अख्तियारमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement