काठमाण्डु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती भएपछि त्यहाँबाट हुने उडानको संख्या घटेको छ ।
त्रिभुवन विमानस्थलमा उडान कटौतीपछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने क्रम बढेको छ । भैरहवाबमा कुबेतबाट जजिरा एयरले उडान भरेको छ भने नेपाल वायुसेवा निगम र फ्लाई दुबईले उडान भर्दैछ ।
काठमाडौंमा विमानस्थलको ट्याक्सी वे निर्माणको क्रममा रहेकाले आगामी चैत तेस्रो सातासम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे विस्तारसहित विमानस्थलको स्तरोन्नतिका लागि उडान अवधि कटौती गरेको जनाएको छ । प्राधिकरणका अनुसार
अन्तर्राष्ट्रियतर्फ करिब २९ र आन्तरिक उडान ३५ प्रतिशतले कटौती भएको छ । उडान कटौती भएकाले एअरलाइन्स कम्पनीहरूले टिकटको भाउ बढाएका छन् ।
त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि आन्तरिक तथा वाह्य हवाई भाडादर अचाक्ली बढेको हो । विमानस्थल लामो समय बन्द हुने भएपछि उडान संख्या कटौती हुँदा भाडादर बृद्धि भएको बताइएको छ ।
यसअघि काठमाडौं–दिल्लीको भाडादर औसत १२ हजार रुपैयाँ रहेकोमा एकतर्फी भाडा बढेर झण्डै ५० हजार पुगेको छ ।
भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको छन् । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य देश जाने उडानमा पनि अत्यधिक भाडा वृद्धि भएको छ । व्यवसायीका अनुसार करिब साढे ४ घण्टा दुरीको काठमाडौँ–यूएई उडानको सामान्य अवस्थामा हवाई भाडा ३० देखि ३५ हजार लाग्छ । अहिले ६५ हजार पुगेको छ । साउदी अरब, कतार, मलेसिया, ओमान, बहराइन र कुवेतको सामान्य समयमा एकतर्फी भाडा ४० देखि ४५ हजार मात्र लाग्ने गरेकोमा अहिले ८० देखि एक लाखसम्म पुगेको छ ।
युरोपका देश जाने हवाईभाडा ९० हजारदेखि १ लाख २० हजारसम्म पुगेको छ । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट खाडी तथा मलेसिया उड्ने हवाई भाडा कम छ । जसका कारण वैदेशिक रोजगारीमा जाने कामदार भारतका विमानस्थलबाट जान बाध्य भएका छन् ।




प्रतिक्रिया