उत्तराखण्डको बाढीमा जाजरकोटका १३ जना बेपत्ता, गृह मन्त्रालयलाई जानकारी

उत्तराखण्डको बाढीमा जाजरकोटका १३ जना बेपत्ता, गृह मन्त्रालयलाई जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएका छन् ।

मंगलबार दिउँसोको बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

भारतमा मजदुरी गर्न गएका स्थानीय वासिन्दा बाढीपछि सम्पर्कमा नआएको जनाइएको छ । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरू हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’

बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेका छन् । मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका वासिन्दा पनि सम्पर्कमा नरहेका अध्यक्ष बस्नेतले जनाएका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताउँदै भने, ‘जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटवासीको नाम संकलन गर्न निर्देशन दिएको छु । गृह मन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु ।’