बाढीपहिरोका कारण करीब १० करोड बराबरको क्षति

बाढीपहिरोका कारण करीब १० करोड बराबरको क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नदी कटान, डुबान र बाढीका कारण करोडौंको क्षति भएको हो ।

‘प्रारम्भिक विवरणअनुसार करीब १५०० मिटर तटबन्ध कटान भई जम्मा करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नदी नियन्त्रणतर्फ झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्ग नजिक करीब २०० मिटर तटबन्ध कटान गर्दा होकलबारी गाउँका ११४ घर बारी डुबानमा परेका छन् । करीब ५०० हेक्टर धान खेतमा क्षति भएको जनाइएको छ । सोही नदीले झापा गाउँपालिका–२ कुवाडीमा थप २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जमिनमा क्षति पुर्‍याएको छ, जसको अनुमानित लागत ७५ लाख रुपैयाँ पुगेको छ ।

यसैबिच, मेची नदीले विभिन्न स्थानका स्परमा क्षति पुर्‍याएको छ भने यसको लागत करीब ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

विराटनगर महानगरपालिका–६ र १२ मा केशलिया नदीको बाढीले ७५ घरधुरी डुबानमा पारी विस्थापित हुनुपरेको छ । सिरहामा कमला नदीले पटेरुवाको तटबन्धमा क्षति पुर्‍याएको छ, जसको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ । रौतहटमा लालबकैया नदीले मौलापुर र बौदीमाई क्षेत्रमा करीब १८० मिटर तटबन्ध बगाउँदा करीब ३०० हेक्टर धान खेत र २०० घरगोठ डुबानमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसबाट करीब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । महोत्तरीमा रातो नदीले बलवा, लोहरपट्टी, रतबारा तथा जलेश्वर क्षेत्रका तटबन्ध कुल ८९० मिटर कटान गरी ८ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । यसले सदरमुकाम जलेश्वर समेत बाढीको उच्च जोखिममा पारेको छ ।

सिँचाइतर्फ भने विभिन्न आयोजनाका गेट समयमै सञ्चालन गरिएकाले ठूला संरचनागत क्षति नभएको जनाइएको छ । तर झाँज सिँचाइ प्रणाली नजिकै मोहमदपुर गाउँ डुबानमा परेको छ भने सुनसरी–मोरङ, बाग्मती र नारायणी सिँचाइ आयोजना भित्रका खोल्साले खेतीयोग्य जमिनमा कटान गरेका छन् ।

सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँधस्थल डुबानमा पारेको छ । कफर ड्याम सहितका संरचनाको वास्तविक अवस्था भने यकिन हुन सकेको छैन ।

कोशी र बाग्मती प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ लगायत पहाडी जिल्लामा पहिरोका घटनाहरू भएका छन् । यद्यपि क्षतिको विस्तृत विवरण संकलन भइसकेको छैन ।