काठमाण्डु – देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ ।
असोज १७ गतेदेखि १९ गतेसम्मको ३ दिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार मध्याह्न १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार २४ जना घाइते भएका छन् भने १८ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन् ।
रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा २ जनाको ज्यान गएको छ । पाँचथर, खोटाङ, काभ्रे, मोरङ, रसुवा, भोजपुर, ललितपुर, मकवानपुर, ताप्लेजुङ र धनकुटाजस्ता जिल्लाहरूमा पनि विभिन्न कारणले मानवीय क्षति भएको छ ।
विशेषगरी पहिरो, बाढी, चट्याङ र खोलाको बगावटले मानवीय क्षति पुर्याएको बताइएको छ । इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा परेर गर्भवती महिलासहित २ जना फसेका थिए भने झापामा बाढी र डुबानमा परेका १६ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाल सरकारको गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणले उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाएको छ । स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवकहरूले राहत वितरण, उद्धार तथा पहिरो प्रभावित क्षेत्रमा सडक तथा सञ्चार व्यवस्था पुन:स्थापनाका लागि काम गरिरहेका छन् ।
सरकारले थप वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आमजनतालाई आग्रह गरेको छ ।




प्रतिक्रिया