बाढीपहिरोमा हालसम्म ५२ जनाको मृत्यु, उद्धार कार्य जारी

बाढीपहिरोमा हालसम्म ५२ जनाको मृत्यु, उद्धार कार्य जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले मध्याह्न १२ बजेसम्मको विवरणअनुसार बाढीपहिरोमा परी ५२ जनाको निधन भएको जानकारी दिएका छन् ।

मंगलबार अविरल वर्षाबाट भएको विपद्का घटना एवं खोज, उद्धार तथा राहत सम्बन्धी पत्रकार सम्मेलनमा उनले हालसम्म पहिरोमा परी ३९ जना, बाढीमा ११ जना र चट्याङबाट २ जना गरी ५२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘मध्याह्न १२ बजेसम्मको विवरणअनुसार मानवीय क्षतिमा ५२ जनाको निधन भएको छ । पहिरोमा परी ३९ जना, जसमध्ये इलाममा ३७ जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना रहेका छन् । बाढिमा ११ जनाको मृत्यु भएको छ । यसमा उदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् । यसैगरी रौतहटमा चट्याङबाट पनि २ जनाको मृत्यु भएको छ । बेपत्ता अहिलेसम्म रसुवामा ४ जना, इलाममा १ जना हुनुहुन्छ र घाइते ४७ जना हुनुहुन्छ । पहिरोका घाइते ३३ जना, चट्याङका घाइते १४ जना रहेका छन् ।’

उनले बेपत्ताहरूको खोज उद्धारको कार्य ३ वटै सुरक्षा निकाय र स्वयंसेवक साथीहरू खटिएको भन्दै संघीय सरकार र प्रदेश सरकारले घाइतेहरूको उपचार नि:शुल्क गरेको पनि बताए ।

उनले भने, ‘बेपत्ताहरूको खोज उद्धारको कार्य जारी छ । ३ वटै सुरक्षा निकाय परिचालित छन् भने रसुवाको बाढीमा स्वयंसेवक साथीहरू पनि हुनुहुन्छ । खोज उद्धार कार्य जारी रहने नै छ भने घाइतेहरूको उपचार नेपाल सरकारले नि:शुल्क गर्ने भनेको छ र प्रदेश सरकारको तर्फबाट पनि आफ्नो प्रदेशमा भएको अस्पतालहरूमा नि:शुल्क उपचार गराउने कुरा गर्नुभएको छ ।’

३ वटै सुरक्षा निकायहरू, नेपाल सरकारका संघीय मन्त्रालयहरू मात्र नभई एनजीओ, आईएनजीओहरूदेखि लिएर सबैको अपनत्व भएको प्रतिकार्य योजना भयो भने काम कागजी मात्र नभई भौतिक रूपमा पनि हुने भन्दै सोही हिसाबले सबैलाई लिएर अगाडि बढेको पनि उनको भनाइ छ ।