काठमाण्डु – केही दिन अगाडि प्रवेश गरेको मनसुन देशभरी फैलिएको छ । लगातारको वर्षाका कारण अहिले देशका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने पहिरो जाने क्रम पनि बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी बर्षामापन भएको जनाएको छ ।
ति क्षेत्रमा थप बर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरुलाई भोलि बिहानसम्म उच्च सतर्कता अपाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज कालिगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबई लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ ।
यस्तै केहि नदी तथा खोलामा आकस्मिक वहाव बढी सतर्कता तह पुग्ने भएकाले साना नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बिहानको मापन अनुसार नारायणी र नारायणीका सहायक नदीमा बहाव सर्तकता तह आसपास रहेको पनि बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो सिन्धुपाल्चोकको जलबिरेमा बलेफी खोला जलमापन केन्द्रमा आकस्मिक जलसतह बढेर खतरा तह पार गरेकोमा अहिले घट्दो क्रममा छ ।




प्रतिक्रिया