काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि अन्योलमा रहेको विधान संशोधनमा सहमति जुटाउँदै अध्यक्ष चुन्न प्रत्यक्ष निर्वाचन गर्ने टुंगो लगाएको छ ।
विशेष साधारण सभाबाट विधान संशोधन गर्दै महासंघले अध्यक्षको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष बनाएको छ ।
अध्यक्ष चन्द्र ढकालको लामो प्रयासपछि विधान संशोधनमा सहमति जुटेको छ । ‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था हो महासंघ, यसको विधान संशोधन सर्वसम्मत ढंगले गरिनुले निजी क्षेत्र बीचको एकताको प्रतिनिधित्व गर्छ,’ अध्यक्ष ढकालले भने, ‘महासंघलाई थप बलियो बनाउने सवालमा विधान संशोधनले महत्त्वपूर्ण अर्थ लाग्नेछ ।’
संशोधित विधान अनुसार अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष हुने भएको छ । हाल वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था छ । अहिलेका वरिष्ठ उपाध्यक्ष साविकको विधानको व्यवस्थाअनुसार स्वतः अध्यक्ष बनेपछि अर्काेपालिदेखि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुने भएको छ ।
विगतमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष बनेका छन् । अब हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेपछिको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिनेछन् ।
संशोधिन विधानअनुसार महासंघ जिल्ला नगर उपाध्यक्ष अब २ जना हुने भएका छन् । अहिलेको विधानको व्यवस्था अनुसार १ जना जिल्ला अध्यक्ष रहने व्यवस्थालाई संशोधन गरेर १ जना थपिएको छ ।




प्रतिक्रिया