फोहोरको विषयले फिलिपिन्स–क्यानाडाको कुटनीतिक सम्बन्ध बिग्रियो


एजेन्सी – फिलिपिन्सले क्यानडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानडास्थित नियोगको दर्जा कटौती गरेको छ ।

क्यानडाले फिलिपिन्समा ६ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सिनले बताएका छन् ।

सन् २०१३ र २०१४ मा क्यानाडाले फिलिपिन्सको तटीय इलाकामा सयौं टन फोहोर फालेको थियो । फिलिपिन्सले त्यो फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानडामाथि दबाब दिँदै आएको छ ।

विदेश सचिव लोक्सिनले ट्वीटमा भनेका छन्, ‘क्यानाडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ । तत्काल क्यानाडाले काम सुरु नगरे हामी कुटनीतिक दर्जालाई घटाउनेछौं ।’

उनले क्यानडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानडा छाड्न आदेश दिइएको पनि बताए । मनिलास्थित क्यानडेली राजदूतावासले त्यस विषय सुल्झाउन काम गरिरहेको जनाएको छ ।

क्यानडाले सन् २०१३ र २०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले क्यानाडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानडा फिर्ता पठाइदिने बताएका छन् ।

फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानडा नै फर्काउन आदेश दिएको थियो । गत साता राष्ट्रपति डुटर्टेले फिलिपिन्स आइपुगेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोक्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement