काठमााण्डु – फिफा विश्वकप २०२६ को पदक वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने भएका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फाइनलको ट्रफी वितरण समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने आधिकारिक पुष्टि गरेका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा अध्यक्ष इन्फान्टिनोले भने राष्ट्रपति ट्रम्प फाइनल समारोहमा सहभागी हुनुहुनेछ । विजेता टोलीलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गर्नुहुनेछ ।’
आगामी साउन ४ गते न्युजर्सीको इस्ट रदरफोर्डस्थित प्रतिष्ठित रंगशालामा विश्वकपको फाइनल खेल हुँदैछ । ट्रम्प र आफूले संयुक्त रूपमा ट्रफी प्रदान गर्ने स्पष्ट पार्दै इन्फान्टिनोले थपे, ‘अवश्य पनि, हामी सधैँ सँगै रहनेछौँ ।’
राष्ट्रपति ट्रम्पले फिफाका खेलहरूमा सहभागिता जनाएको यो पहिलो पटक भने होइन। गत वर्ष सोही रंगशालामा भएको क्लब विश्वकप फाइनलमा चेल्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३–० ले पराजित गर्दा पनि ट्रम्प मञ्चमै थिए । पछि उक्त ट्रफी ह्वाइट हाउसको ओभल अफिसमा समेत देखिएको थियो भने चेल्सीलाई त्यसको प्रतिरुप (रेप्लिका) मात्र दिइएको चर्चा चलेको थियो ।
‘द एथलेटिक’का अनुसार फिफा अध्यक्ष इन्फान्टिनोले यस विश्वकपका सकेसम्म धेरै खेलहरू हेर्ने लक्ष्य राखेको छ र अहिलेसम्म उनले दैनिक दुई वटासम्म खेल हेरिरहेका छन् भने अर्कोतर्फ राष्ट्रपति ट्रम्प भने यस वर्षको विश्वकपको कुनै पनि खेलमा अहिलेसम्म रंगशालामा उपस्थित भएका छैनन्। जसका कारण फाइनलमा उनको उपस्थिति मुख्य आकर्षण बन्ने छ ।




प्रतिक्रिया