काठमाण्डु – राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्नु सरकारको प्रमुख कर्तव्यभित्र गर्छ । त्यसमा पनि विदेश मामिलाका सन्दर्भमा उठेका प्रश्नलाई चित्तबुझ्दो ढंगले सम्बोधन गर्नु परराष्ट्रमन्त्रीको काम हो । तर नेपाल सरकारका वर्तमान परराष्ट्रमन्त्री एनपी साउँद विवादमा तानिएका छन्, उनले एउटा भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा व्यक्त विचारका कारण ।
भारतीय टेलिभिजन आजतकले लिएको अन्तर्वार्तामा प्रस्तोताबाट भारतको नक्शामा समावेश भएको कपिलवस्तु र लुम्बिनीबारे प्रश्न गरिएको छ । भारतको नयाँ संसद् भवनमा राखिएको नक्शामा नेपाली भूमि समावेश भएपछि आलोचना समेत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री साउँद भारत जानुअघि नै नेपालमा विवाद सतहमा आएको थियो ।
जवाफमा मन्त्री साउँदले भनेका छन्, ‘यो नक्शाको मामिला हामीलाई जानकारी नै छैन । जुन कुरा हामीलाई थाहा छैन, उक्त विषय नेपालले उठाउन जरुरी नै छैन । यो सिमानाको कुरा पनि हैन । आजभन्दा २५ सय वर्षअघिका गणराज्यहरू अंकित तस्वीर फेसबुकतिर आएको छ । त्यसकारण यस विषयमा हाम्रो कुनै छलफल भएन ।’
सर्वसाधारण जनतासम्मलाई थाहा भइसकेको विषयमा परराष्ट्रमन्त्री साउँदले थाहा नभएको भनेर अनौठो अभिव्यक्ति दिए । उनले नेपाली भूमि भारतको नक्शामा समावेश गर्ने भारतको कार्यको मौन समर्थन जनाए जस्तो भएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा जानकारी लिने परराष्ट्र मन्त्रालयसँग दूतावासदेखि कूटनीतिक संयन्त्र हुन्छन् । खुलेआम सार्वजनिक भइसकेको विषयमा परराष्ट्रमन्त्रीको अनभिज्ञता आश्चर्यजनक छ ।
देश हितमा स्पष्ट कुरा राख्न नसक्ने देखिएपछि प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री साउँदको राजीनामा माग्न थालिएको छ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम शाहले भने, ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो र रिपोर्टरले कपिलवस्तु र लुम्बिनी अखण्ड भारतको कुराले तपाईंको देशमा विवाद भइरहेको छ, विपक्षले नक्शाको कुरा उठाइरहेको छ भनेर बारम्बार प्रश्न गर्दा पनि मेरो सरकारलाई जानकारी छैन, मलाई थाहा छैन भनेर उहाँले भन्नुभएको कुरा मिडियामा आइरहेको छ । हाम्रो देशको अखण्डता र सार्वभौमिकता आँच पुर्याउँदा पनि जानकारी छैन भन्ने यस्तो परराष्ट्रमन्त्री के काम ? राजीनामा दिएर हिँडे हुन्छ ।’
प्रतिनिधिसभा बैठकमा बोल्ने अन्य सांसदले समेत परराष्ट्रमन्त्रीको भूमिकाप्रति प्रश्न गरेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पनि परराष्ट्रमन्त्री साउँदको सक्रिय भूमिका कहीँकतै देखिएन । तसर्थ परराष्ट्रमन्त्री साउँद प्रश्नको घेरामा परेका छन् ।
पछाडि फर्केर हेर्दा चैत १७ गते प्रचण्ड नेतृत्वको सरकार विस्तारका क्रममा एनपी साउँद शहरी विकास मन्त्री बन्न लागेको हल्ला फैलिएको थियो । तर उनले त्यो दिन मन्त्री बन्न पाएनन् ।
प्रमुख दलहरू वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको चटारोमा रहेका बेला अकस्मात बैशाख ३ गते साउँदलाई परराष्ट्रमन्त्री नियुक्त गरेर एक्लै शपथ गराइयो । साउँदलाई अकस्मात परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने साइत के थियो ?
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी गर्नुपर्ने भएकाले हतारमा परराष्ट्रमन्त्री नियुक्त गरिएको भनिए पनि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणलाई लक्षित गरेर उनलाई नियुक्त गरिएको थियो ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले पश्चिमी सीमा नाका हुँदै नेपाल प्रवेश गरिसक्दासम्म पनि नेपालमा परराष्ट्रमन्त्री नियुक्त भएका थिएनन् । धनगढीमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर चौथाइवाले काठमाडौं आउने कार्यक्रम थियो । बैशाख ४ गते चौथाइवाले काठमाडौं पुग्नुभन्दा १ दिनअघि नै हतारहतार साउँदलाई परराष्ट्रमन्त्री नियुक्त गरिएको थियो ।
परराष्ट्रमन्त्री साउँदको नियुक्तिदेखि कामकारवाहीमा उनकी श्रीमती ज्योत्सना साउँदले भूमिका खेलिरहेको स्रोतले जनाएको छ । विश्व हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष रहेकी ज्योत्सनाको भारतीय संस्थापनसँग निकट सम्बन्ध छ । भारतमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार छ । श्रीमतीकै प्रभावको असरले एनपी साउँदले राष्ट्रहितमा बोल्नै नसक्ने अवस्थामा पुगेका बताइन्छ ।
परराष्ट्रमन्त्री साउँद नियुक्त भएपछि भारतीय पक्षले बधाईमा समेत हतारो गरेको थियो । साउँदले कार्यभार सम्हालेको केही घण्टामै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना दिएका थिए । मन्त्री साउँदले मन्त्रालयको ब्रिफिङ नलिँदै राजदूतले कार्यकक्षमै आएर बधाई दिनुलाई अस्वाभाविक मानिएको थियो, जुन अस्वाभाविकता मन्त्री साउँदको अन्तर्वार्तामा पनि झल्किएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि सामाजिक सञ्जालमार्फत मन्त्री साउँदलाई तत्कालै बधाई दिएका थिए ।
राष्ट्रिय अखण्डताको मुद्दामा विवादित बनेका साउँदमाथि संसदमै प्रश्न उठेका छन् । हुन त भारत भ्रमणमा देखिएको भूमिका कारण प्रधानमन्त्री प्रचण्ड स्वयं विवादमा छन्, जसले गर्दा संसदको कामकारवाही समेत प्रभावित भएको छ । यी विवादित विषयले कसरी अगाड बढ्छन् ? हेर्न बाँकी छ ।




प्रतिक्रिया