ताइवानको तनावपूर्ण परिस्थिति नजिकबाट नियालिरहेका छौं : परराष्ट्र मन्त्रालय

ताइवानको तनावपूर्ण परिस्थिति नजिकबाट नियालिरहेका छौं : परराष्ट्र मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि बढ्दो तनावलाई नेपालले नजिबाट नियालीरहेको बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको र नेपाल सधैभर एक चीन नीतिको समर्थन गर्दै आएको बताइन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ ।चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ ।

‘दुवै मुलुक (नेपाल र चीन)ले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’ पत्रकार सम्मेलनमा उनले परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह समेत गरेकी छन् । परराष्ट्र मन्त्री खड्का तीन दिन चीन भ्रमणका लागि साउन २४ मा चीन जाँदैछन्।

 २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता समेत गरेकी थिइन्। बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन्।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ। बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, “आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।” उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरिसकेकाे छ।