काठमाण्डु – नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन् ।
तीन दिने औपचारिक भ्रमणमा भारत पुगेका मन्त्री ज्ञवालीले भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग आज (शनिबार) बिहान अन्तरक्रिया गरेका हुन् ।
शुक्रबार संयुक्त आयोगको बैठकपछि मन्त्री ज्ञवालीले दुई मुलुकबीच देखिएको सीमा विवादको समाधान गर्न नेपालले अविलम्ब वार्ता गर्न चाहेको बताएका थिए । इन्डियन काउन्सिल अफ वल्र्ड अफेयर्सले आयोजना गरेको प्रवचन कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल संवादबाटै समस्या सुल्झाउने पक्षमा रहेको बताएका हुन् ।
शुक्रबार दुवै मुलुकका परराष्ट्रमन्त्री सहभागी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा व्यवस्थापनका बाँकी कामलाई छिटो टुंग्याउने सहमति जुटेको थियो । मन्त्री ज्ञवालीले बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।
भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमिलाई आफ्नो नक्सामा पारेपछि नेपाल र भारतबीच सम्बन्धमा चिसोपना आएको थियो । त्यसपछि नेपालले यी तीन आफ्ना भूभाग समेट्दै नयाँ नक्सा जारी गर्दै त्यसलाई संविधानमै समेटेको थियो । नेपालले सीमा समस्याको समाधान चाँडै गर्न निरन्तर वार्ताको पहल गर्दै आएपनि भारतीय पक्षले नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको थियो ।
अघिल्लो वर्ष सीमा विवाद देखिएपछि दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरमा पहिलो पटक बैठक भएको हो । यसअघि भारतीय विदेशसचिव नेपाल भ्रमणमा आएका थिए ।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशंकरले बैठकको अध्यक्षता गरेका थिए । बैठकमा कोरोना महामारीका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न दुई मुलुकबीचको समन्वयकारी भूमिकाको प्रशंसा गरिएको थियो ।
बैठकमा प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायतका विषयमा पनि छलफल भएको नेपाली दूतावासले जनाएको छ । मन्त्री ज्ञवाली आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।




प्रतिक्रिया