फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भएको छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएका छन्।

उनले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा यसको औपचारिक घोषणा गरिने उल्लेख गरेका छन्।

फ्रान्सले उक्त निर्णय लिए प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने यो पहिलो जी-सेभन राष्ट्र हुने छ। जी-सेभन प्रमुख औद्योगिक राष्ट्रहरूको समूह हो। यसमा फ्रान्सका अतिरिक्त संयुक्त राज्य अमेरिका, बेलायत, इटली, जर्मनी, क्यानडा र जापान छन्।

माक्रोँले एक्सको पोस्टमा लेखेका छन्, ‘मध्यपूर्वमा न्यायसङ्गत र दिगो शान्तिका लागि उसको ऐतिहासिक प्रतिबद्धताबमोजिम फ्रान्सले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने मैले निर्णय लिएको छु।’

प्यालेस्टिनी अधिकारीहरूले माक्रोँको निर्णयको स्वागत गरेका छन् भने इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले भने यस्तो कदमले आतङ्कलाई पुरस्कृत गर्ने प्रतिक्रिया जनाएका छन्।

युद्धविराम वार्ताबाट अमेरिका र इजरायल बाहिरिए

यसैबीच गाजामा युद्धविराम गर्ने विषयमा कतारमा जारी वार्ताबाट इजरायल र अमेरिकी मध्यस्थकर्ताहरू बाहिरिने भएका छन्। उनीहरूले हमासमाथि ठिक नियतले काम नगरेको आरोप लगाएका छन्।

अमेरिकी विशेषदूत स्टीभ विट्कोफले एउटा विज्ञप्ति जारी गर्दै दोहाबाट आफ्नो टोली फिर्ता गर्ने निर्णय गरिएको बताए।

‘हमासको पछिल्लो जबाफपछि हामीले छलफलका लागि दोहाबाट हाम्रो टोलीलाई छलफलका लागि फिर्ता बोलाउने निर्णय गरेका छौँ। हमासको जबाफले गाजामा युद्धविराम गर्ने इच्छाशक्तिको अभाव देखाएको छ’, उनले भने।

इजरायल सरकारले आफ्नो टोली फिर्ता बोलाउनुको कारण खुलाएको छैन। तर एक वरिष्ठ इजरेली अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले वार्ता भङ्ग नभएको उल्लेख गरेका छन्।