काठमाण्डु – फ्रान्सको पेरिसस्थित लूभर संग्रहालयमा आइतवार बिहान चोरीको एउटा घटनाले प्रहरीलाई आश्चर्यमा परेको छ ।
यद्यपी चोरीको घटनापछि संग्रहालयलाई अस्थायी रूपमा बन्द गर्नुपरेको छ । तर प्रहरीले अहिले यो आश्चर्यजनक चोरीको घटनाको अनुसन्धानको भेउ पाउन सकेको छैन ।
यो घटनामा चोरहरूले फ्रान्सको शाही परिवारका बहुमूल्य गहना चोरी गरेका छन्। उनीहरूले १७औँ शताब्दीका आठ अत्यन्तै बहुमूल्य गहना लिएर फरार भएका छन् ।
दिनदहाडै भएको यो घटनामा चोरहरू पावर टुल्स (विद्युत उपकरणहरू) को सहयोगमा संसारकै सबैभन्दा चर्चित संग्रहालयमा पसेका थिए र त्यसपछि स्कूटरमा भागेका थिए । यो घटना स्थानीय समय अनुसार आइतवार बिहान करिब ६ बजेदेखि ७ बजेसम्मको बीचमा भएको हो । जतिबेला संग्रहालयमा आगन्तुकहरूको प्रवेश सुरु भएको थियो ।
हालसम्मको अनुसन्धान अनुसार चार चोरहरूले हाइड्रोलिक लिफ्ट भएको ट्रक प्रयोग गरी सीन नदी नजिकैको बालकनीबाट ग्यालरी अफ अपोलोसम्म प्रवेश गरेका थिए ।
घटनास्थलका तस्वीरहरूमा एउटा गाडीमा जोडिएको सिँढी पहिलो तलाको झ्यालसम्म पुगेको देखिन्छ । दुई चोरहरूले ब्याट्रीबाट चल्ने डिस्क कटर प्रयोग गरी सिसा काटेर संग्रहालयभित्र प्रवेश गरेका थिए ।
उनीहरूले सुरक्षा गार्डहरूलाई धम्क्याए, त्यसपछि गार्डहरूले भवन खाली गराएका थिए । त्यसपछि चोरहरूले दुईवटा काँचका शोकेस तोडी गहना लिएर भागे ।
अधिकारिहरूका अनुसार चोरहरूले आठ वटा बहुमूल्य गहना चोरी गरेका छन् जसमा फ्रान्सको तत्कालीन शाही परिवारको मुकुट, हार, कानका मुन्द्रा र ब्रोच समावेश छन् ।
यी सबै १७औँ शताब्दीका हुन् र कुनै समय फ्रान्सेली शाही परिवार वा साम्राज्यको सम्पत्ति थियो । यी सबै गहनामा हजारौँ हिरा र अन्य कीमती रत्नहरू जडिएका छन् ।
चोरीपछि दुईवटा वस्तु घटनास्थल नजिकै फेला परेका छन्, जसमा रानी युजिनको मुकुट समेत छ । प्रहरीले यी मुकुट भाग्ने क्रममा खसेको हुन सक्ने अनुमान गरेको छ । अधिकारीहरूले ती वस्तुहरू सुरक्षित छन् वा छैनन् भनेर जाँच गर्दैछन् ।
फ्रान्सका गृहमन्त्री न्युनेजले यी गहनालाई अत्यन्तै बहुमूल्य र महत्वपूर्ण सांस्कृतिक सम्पदा भनेका छन् ।
सात मिनेटमै चोरी
चोरीको समयमा संग्रहालयको अलार्म बजेपछि कर्मचारीहरूले तय गरिएको प्रोटोकल अनुसार सुरक्षा बलसँग सम्पर्क गरे र आगन्तुकहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए ।
संस्कृति मन्त्रालयका अनुसार चोरहरूले आफ्नो गाडीमा आगो लगाउने प्रयास गरेका थिए । तर संग्रहालयका एक कर्मचारीले उनीहरूलाई रोकेका थिए ।
संस्कृति मन्त्री राशिदा दातीले फ्रान्सेली टेलिभिजनलाई सीसीटीभी फुटेजमा नकाबपोश चोरहरू शान्त रूपमा संग्रहालयभित्र पस्दै शोकेस तोड्दै देखिएका बताएका छन् ।
अनुसन्धानकर्ताहरू अहिले चारजना संदिग्धको खोजी गर्दै छन् र भाग्ने सम्भावित मार्गका सीसीटभीभी फुटेज जाँचिरहेका छन् ।
गृहमन्त्री लरेन्ट न्युनेजका अनुसार चोरी अत्यन्तै छिटो भएको थियो र सात मिनेटभन्दा कम समयमा समाप्त भएको थियो ।
लूभरमा यसअघि पनि बहुमूल्य सामानहरू चोरी भएका छन् ।
लूभरबाट चोरीको सबैभन्दा चर्चित घटना १९११ मा भएको थियो, जब लियोनार्डो दा भिन्चीको मोनालिसा चोरी भएको थियो ।
त्यो बेला यो चित्र विशेष चर्चित थिएन तर दुई वर्षपछि फेला परेको थियो । त्यो समयमा प्रहरीले कवि गिलॉम अपोलिनेर र चित्रकार पाब्लो पिकासोसम्मसँग पनि सोधपुछ गरेको थियो ।
तर असली अपराधी एक इटालियन व्यक्ति थियो, जसले राष्ट्रिय गौरवका कारण यो चित्र इटाली फर्काउन खोजेको थियो ।
त्यसपछि मोनालिसालाई अहिले कडा सुरक्षायुक्त सिसा कक्षमा राखिएको छ ।
सन् १९८३ मा पनि १५औँ शताब्दीका केही कवच हराएका थिए, जुन पछि फेला परे । सबैभन्दा पछिल्लो ठूलो चोरी २०२० मा भएको थियो, जब १९औँ शताब्दीका कलाकार क्यामिल कोरोको प्रसिद्ध चित्र चोरी भयो ।
यो चित्र सीधै पर्खालबाट उतारिएको थियो र कसैले हेरेको पनि थिएनन् । त्यसपछि सुरक्षा प्रणालीमा ठूलो सुधार गरियो, तर त्यो चित्र अझै फेला परेको छैन । फ्रान्सका संग्रहालयहरूमा चोरीका घटना दुर्लभ भए पनि, केही पटक भइरहेका छन् ।
गत महिना लिमोजको एड्रियन डुबुचे संग्रहालयबाट चोरहरूले करिब २.६ मिलियन युरो मूल्यका पोर्सेलेन कलाकृति चोरेका थिए ।
नभेम्बर २०१९ मा पेरिसको कोन्याक–जे संग्रहालयबाट सातवटा ऐतिहासिक वस्तु चोरी भए, जसमा पाँचवटा पछि फेला परे ।
त्यो वर्षकै नोभेम्बरमा बर्गण्डीको हेरोन संग्रहालयमा सशस्त्र लुटेराहरूले गोली चलाएर करोडौँ मूल्यका कलाकृति लुटेका थिए ।




प्रतिक्रिया