काठमाण्डु – नेकपा एमालेसँग एकता गर्ने विषयमा कुरा नमिल्दा नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । संयोजक बामदेव गौतम, महासचिव डिबी कार्कीसहित एमालेमा फर्कन तयार भएका छन् भने उपाध्यक्ष महेन्द्र अर्यालसहितका नेताहरू एमालेमा प्रवेश गर्न नहुने भन्दै छुट्टिएका छन् ।
संयोजक गौतमले आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेर एमालेमा फर्कने निश्चित गरेका छन् । उपाध्यक्ष अर्याल सहितका नेताहरूले भने काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफूहरू एमालेमा नजाने बताएका छन् ।
प्रधानमन्त्री ओलीसँगको भेटपछि गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको जानकारी दिए । गौतमले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने बताए ।
भेटमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गौतमजस्तो इतिहास भएको पुरानो नेता फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेका थिए ।
गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको बताए । ‘माधवजीसँग कुराकानी भयो, तर एकीकृत समाजवादीबाट कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम पनि भयो । तर अब यी कुरा छाडिदिउँ । ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ,’ गौतमले भने ।
अर्कोतर्फ गौतम एमालेमा फर्कन वार्तामा लागेपछि उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति अभियानबाट अलगिएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका छन् ।
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले बामदेवको साथ छाड्दै एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन् । अर्यालको संयोजकत्वमा गठित वार्ता समितिमा काफ्ले, सुब्बा र भट्टराई सदस्य छन् ।
वामदेव निःशर्त ढङ्गले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढङ्गले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरूले पत्रकार सम्मेलनमा बताए । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूले बताए ।
वामदेवसँग अलग भएका अर्यालले आफूहरूले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र बालेन साहसँग समेत छलफल गरिरहेको जानकारी दिए ।




प्रतिक्रिया