काठमाडौं – संघीय राजधानी काठमाडौं उपत्यकाको वातावरण र हावा प्रदूषित मानिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाउने घटेको अभिव्यक्ति दिएपछि वातावरण र धुवाँधुलोको बहस फेरि तातेको छ । धुवाँधुलोले मात्रै नभइ काठमाडौंको वातावरण प्रदूषित बनाउनमा सार्वजनिक सवारीसाधनले गर्ने प्रदूषण समेत कारकको रुपमा रहेको छ ।
पुराना र आवश्यक मर्मतसम्भाव नहुने सवारीसाधनले वातावरणलाई प्रदूषित गरिरहेका हुन्छन् । सरकारले सवारीसाधनले गर्ने प्रदूषणको मात्राबारे अध्ययन शुरू गरेको छ । वन तथा वातावरण मन्त्रालयको सक्रियतामा शुरू भएको अध्ययनमा यातायात विभाग र ट्राफिक प्रहरी कार्यालयको समेत संलग्नता रहेको छ ।
काठमाडौंमा चल्ने सवारीसाधनले कति प्रदूषण फैलाउँछन् ?
काठमाडौं उपत्यकामा डिजेल इन्धनबाट चल्नेमध्ये ७६ प्रतिशत सवारीसाधन वातावरणमैत्री नभएको पाइएको छ । मन्त्रालयको वातावरण विभाग, ट्राफिक प्रहरी र यातायात विभागको समन्वयमा सवारीसाधनमा गरिएको प्रदूषण मापनमा अधिकांश सवारीसाधनले प्रदूषण फैलाउने गरेको पाइएको छ ।
असार १० गतेदेखि वातावरण विभागले प्रदूषण मापनको काम गरिरहेको छ । हालसम्म मापन गरिएका डिजेलबाट चल्ने दुई सय ३२ सवारीसाधनमध्ये १ सय ७६ वटा गाडीले प्रदूषण फैलाउने गरेको पाइएको छ । पेट्रोलबाट चल्ने सवारीसाधन समेत स्वच्छ छैनन् । दुई सय ३१ पेट्रोलबाट चल्ने सवारीसाधनमा मापन गर्दा ७६ वटा मापदण्ड पूरा गर्न असफल देखिएका छन् । वातावरण विभागका अनुसार पेट्रोलबाट चल्ने ३३ प्रतिशत गाडी स्वच्छताको मापदण्डअनुसारका छैनन् ।
विभागले न्यूरोड, बिजुलीबजार, भद्रकाली, रविभवन, बबरमहल, बसुन्धरा लगायतका स्थानमा चल्ने सवारीसाधनको प्रदूषण मापन गरेको थियो । ‘डिजेल गाडीको धुवा मापन गर्दा एचएसयू ६५ भन्दामाथि भएका धेरै कालो धुवा निस्केको देखियो,’ वातावरण विभागका केमिस्ट केशव पौड्यालले भने, ‘पेट्रोल गाडीमा भने कार्बोनमोनो अक्साइड र हाईड्रोकार्बनको मात्रलाई हेरिन्छ ।’ फेल भएका गाडीलाई एक हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
मापदण्ड पूरा नगर्ने सवारीसाधनको सर्भिसिङ गरी पास भएपछि मात्रै सवारी चालकले लाइसेन्स पाउने भएका छन् । अनुगमन अझै केही दिन चल्ने विभागले जनाएको छ । विभागका अनुसार अनुगमनले काठमाडौंमा प्रदूषणको मात्रा घटाउन सहयोग गर्नेछ । अनुगमनबाट उपलब्ध तथ्यांकका आधारमा सवारीसाधन र प्रदूषण न्यूनीकरण सम्बन्धी नीति र योजना बनाउन समेत सहयोग पुग्ने जनाइएको छ । वन तथा वातावरण मन्त्रालय र विभागले प्रदूषणको मात्रा न्यूनीकरण गर्न सक्रियता देखाएको छ ।




प्रतिक्रिया