चोरीको स्कारपियो गाडी हवल्दारको घरमा


नवलपरासी – एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ।

बा १५ च २१०४ नंको गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो।

गाडी चोरीको आरोपमा चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराल पक्राउ परेका हुन्।

गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासी लगायतका ग्यारेजमा प्रहरीले गाडी खोजी गरेको थियो। सो क्रममा प्रहरीले सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छु भन्दै पठाएको थियो।

सैनामैनाका दिलीप बोहाराले आफूसँग गाडी भएको बताएका थिए। बोहोराले रु १५ लाख मागे पनि ७ लाखमा गाडी खरिद गर्ने सहमति भएको थियो। बिक्री गर्न लागिएको गाडी उपलब्ध गराउन बोहोरा र जानकीले प्रहरी जवान कुमाललाई लिएर चौधरीको घरमा पुगेका थिए।

प्रहरी जवान कुमाललाई देख्नेबित्तिकै गाडी नजिक रहेका सशस्त्र प्रहरीका हवल्दार चौधरी भाग्न खोजेपछि कुमालले चौधरीलाई नियन्त्रणमा लिएका थिए भने अन्यलाई पिछा गर्दै गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

एक हप्तासम्म गाडी बिक्री नभएपछि चोरीका मुख्य नाइके चौधरीले गाडीको नम्बर निकालेर भारतीय नक्कली बिलबुकसमेत बनाएर राखेका थिए।

बिआर२२एन ०९८८ नं को नक्कली स्कोरपियोको भारतीय बिलबुक बनाएका उनीहरूले एक दुई दिनमा भारत लगेर बिक्री गर्ने तयारी गरेको समेत अनुसन्धानमा खुलेको छ। चोरीमा संलग्न तीनैलाई चोरी मुद्दामा कारबाही अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement