नेपाली कांग्रेस ‘रिभाइभ’ हुन्छ : सभापति थापा

नेपाली कांग्रेस ‘रिभाइभ’ हुन्छ : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुन: सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए ।

उनले चुनावमा कमजोर नतिजा आउनुमा कुनै एक मात्र कारण नभएको स्पष्ट पार्दै नेपाली कांग्रेसको इतिहासमै नदेखिएको परिणाम आएकोले गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे ।

सभापति थापाले वर्तमान परिस्थिति र नतिजाबाट प्रेरणा लिएर पार्टीलाई पुनर्गठन गरिने र पुन: मजबुत बनाइनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको धारणा राखे ।

उनले छिट्टै पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा एक समिति जनकपुरधाम आउने जानकारी दिए । समितिले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा नीति निर्माणका लागि सरोकारवालासँग छलफल गर्ने उनले बताए ।

थापाले शासकीय सुधारका लागि नेपाली कांग्रेसले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरू प्रतिपक्षमा रहेर पनि पूरा गर्ने बताए । मधेश प्रदेशले विगतमा पार्टीप्रति देखाएको विश्वासको सम्मान गर्दै अब मधेशका लागि ठोस काम गर्ने उनको प्रतिबद्धता थियो ।

उनले आफू सर्लाहीबाट चुनाव लड्दा मधेशको यथार्थ नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै अब आफू पूर्ण रूपमा ‘समग्र नेपाली’ भएको अनुभूति गरेको बताए ।

उनले आगामी वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको आवेदन खुला गरिने जानकारी दिँदै प्रत्येक वडाबाट सदस्यहरूको अद्यावधिक गरिने बताए । थोरै भए पनि गुणस्तरीय सदस्य बनाउने लक्ष्यसहित सदस्यता व्यवस्थापन गरिने र क्रमश: भ्रातृ संगठनहरूलाई पनि अद्यावधिक गरिने उनले बताए ।