कांग्रेसभित्रको आन्तरिक विवादमा सहमति जुट्नेमा सभापति थापा ढुक्क

कांग्रेसभित्रको आन्तरिक विवादमा सहमति जुट्नेमा सभापति थापा ढुक्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् ।

पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आईतबार भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बनाए ।

सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गरेको दबाब अभियानका संयोजक ढुङ्गानाले जानकारी दिए । सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले साउन १६ गते आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गरेका थिए ।

उनले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सुष्मरूपले सहमतिको खाका बनाउन २ जना सदस्यको नाम मागिएको र ४ सदस्यीय कार्यदल १–२ दिनभित्र बन्ने जानकारी समेत गराएका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताविना गाउँमा जनातालाई आशावादी बनाउन नसकिने र पार्टीको साख फर्काउन नसिकने बताएका थिए । उनीहरूले तत्काल पार्टी एकता गरेर आमजनतामा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिइएको भेटमा सहभागी शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

सभापति थापाले पार्टी एकता सहमतिमा भई कांग्रेस एक हुनेमा आश्वस्त तुल्याएको तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकर उपाध्यायले जानकारी दिए । ‘हाम्रो खबरदारी जारी रहन्छ, भेला के गर्ने भन्नेबारे साथीहरू थप छलफल गरेर निर्णय गर्छौं,’ कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले भने ।

आईतबार भएको भेटमा संघका अध्यक्ष ढुङ्गाना, गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगर प्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगर प्रमुख कार्की, तिलागुफाका नगर प्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगर प्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारी लगायतको सहभागिता थियो ।