गगन थापाको प्रश्न : ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’

गगन थापाको प्रश्न : ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

आईतबार जारी प्रेस विज्ञप्तिमार्फत सभापति थापाले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाउँदै सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने बताए । समयमै पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउन नसक्दा नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनु सरकारको गम्भीर सुरक्षा कमजोरी भएको उनको टिप्पणी छ ।

उनले सुरक्षा निकायका प्रमुख परिवर्तन मात्र पर्याप्त नभई घटनाको सही, स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै सत्यतथ्य सार्वजनिक गर्न, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील ढंगले व्यवस्थापन गर्न पनि थापाले सरकारलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा उनले स्थानीय, सामुदायिक संस्था, नागरिक समाज र राजनीतिक दललाई कुनै पनि अफवाह वा उत्तेजनामा नलागी सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।