काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलबाट संवाद यात्रा सुरू गरेका छन् ।
भद्रपुरमा रहेको मेची पुल नजिकै आयोजित यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न संवाद यात्रा सुरु गरेको बताए ।
नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरूप यात्रा सुरु गरेको बताउँदै उनले यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताए । उनले नागरिकका गुनासो सुन्न र समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए ।
कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले नागरिकको दुःख र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत मद्दत गर्ने बताए ।
यात्राका क्रममा औपचारिक सभा नगरी भेटघाट गर्ने कार्यक्रम छ । कांग्रेस केन्द्रीय समितिले आजैदेखि ‘समुदायमा कांग्रेस’ अभियान पनि सुरु गरेको छ ।
महामन्त्री थापाले आजै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्नेछन् । संवाद यात्रा माघ २६ गतेसम्म चल्नेछ ।




प्रतिक्रिया