संविधानमाथि कैयौ कोणबाट प्रहारहरू भइरहेको छ : महामन्त्री थापा

संविधानमाथि कैयौ कोणबाट प्रहारहरू भइरहेको छ : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् ।

आज शुक्रबार आयोजित नेपाली कांग्रेस काठमाण्डु जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैयौ कोणबाट प्रहारहरू भइरहेको भन्दै अस्वाभाविक रूपमा नलिई संविधानमाथि भइरहेका प्रहारहरू चिनेर चिर्नुपर्ने बताए ।

उनले भने, ‘आज हामीसँग यो संविधान छ, यसलाई कैयौ कोणबाट आक्रमण भइरहेको छ । यसलाई हामी धेरै अस्वाभाविक पनि नमानौं । नेपालमा मात्र होइन, हामी एउटा चरणमा गएर यो आक्रमणहरू सकिन्छ र एकैपटक हाम्रो यात्रा सहज हुन्छ भनेर अनुमान पनि नगरौं । अप्ठ्यारोहरू आउँछन्, त्योसँग जुद्धै जाने हो । चिन्ने र चिर्ने पनि हो । संविधानमाथि प्रहारहरू कहाँबाट आएका छन् । एउटा कोण छ आक्रमण गर्ने त्यो नयाँ पात्र हामीले नचिनेको होइन । हामीले नहराएका पनि होइन । ३ हातबाट खोसेर जनताले यो संविधान बनाएको हो । त्यो पुनर्उत्थान प्रवृत्ति हिजो पनि थियो, आज पनि छ । हामीले चिन्नुपर्छ ।’

संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरूबाट नै संविधानमाथि प्रहार हुने गरेको उनले बताए ।

‘अर्को एउटा प्रवृत्ति पनि छ । हेर्दाखेरी संविधान मानेको जस्तो देखिने, निर्वाचनमा भाग लिएको जस्तो देखिने तर ख्याल गर्‍यौं भने यसले हाम्रो इतिहासलाई ढिसमिस गर्छ । संघर्षका दिनलाई सुशासनसँग जोड्नुपर्छ । पार्टीले त्यसलाई मन्त्र बनाउनुपर्छ । आजको दिनमा नागरिक सबैभन्दा आजित कुशासनका कारणले छन्, त्यसैले कांग्रेसले मन्त्र बनाउनैपर्छ ।’