भ्रष्टाचारमा नयाँ दल भनेर छुट हुँदैन : महामन्त्री थापा

भ्रष्टाचारमा नयाँ दल भनेर छुट हुँदैन : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने टिप्पणी गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताए ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गर्दै उनले कानूनको शासनभन्दा माथि कोही पनि नहुने जिकिर गरे । उनले प्रश्नभन्दा माथि कोही पनि नरहेको बताए ।

शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने उनले बताए । उनले भने, ‘कानूनको शासनको लागि हामी उभिन्छौं भन्नुको अर्थ प्रश्नभन्दा माथि कोही छैन । प्रश्नभन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्नभन्दा माथि कुनै नेता छैन । प्रश्नभन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्नभन्दा माथि छैनन्, कोही पनि कानूनभन्दा माथि छैन ।’

सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी नै हुने उनले बताए । उनले भने, ‘यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदि सर्वसाधारणले गरेको कुनै काम कीर्ते हुन्छ भने शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुन्छ । एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ ।’

उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसले देशको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए । उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरेका छन् ।