काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतको आफ्नै व्याख्याका कारण प्रदेश सरकार धरापमा परेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई महामन्त्री थापाले भने, ‘केही महिनादेखि प्रदेशका मुख्यमन्त्रीहरू प्रदेशमा नभएर सर्वोच्च अदालतमा भेटिन् थालेका छन् ।’
‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं । त्यो गर्न एमालेसँग सल्लाह गरौं,’ उनले भने ।
संविधान संशोधनका लागि कांग्रेसले सत्तारुढ दल नेकपा एमालेसँग सघन छलफल गर्ने बताउँदै थापाले संविधान संशोधन गर्न ढिला गर्न नहुनेमा आफ्नो दल प्रष्ट रहेको बताए ।
थापाले संविधान संशोधन गरेर संघ र प्रदेशको सदस्य संख्याको आकार घटाउनुपर्ने पनि तर्क गरे । चोक चोकमा बसेर प्रदेश खारेज गरौं भनेर अर्थ नभएको भन्दै उनले कम खर्चमा संसद र सरकार चलाएर देखाउनु आवश्यक भएको बताए । थापाले संघीय सरकारको मन्त्रिमण्डलसमेत घटाउनुपर्ने तर्क गरे ।




प्रतिक्रिया