काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीचको झगडाका कारण प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था संविधानमा नलेखिएको आरोप लगाएका छन् ।
रुपन्देहीमा मंगलबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो संविधान सभामा अहिलेभन्दा कम्तीमा ५ गुणा बढी अधिकार भएको ११ प्रदेश, ३०० वटा स्थानीय तह, संसद्ले निर्वाचित गर्ने प्रधानमन्त्री र आमजनताले मतदान गरेर निर्वाचित गर्ने राष्ट्रपतिको व्यवस्था गरी संविधानको ड्राफ्ट तयार भए पनि प्रचण्ड–बाबुरामका कारण त्यो सम्भव नभएको बताए ।
महामन्त्री थापाले प्रचण्ड–बाबुरामको झगडाकै कारण पहिलो संविधानसभा भंग भएर दोस्रो संविधान सभाले विशिष्ट परिस्थितिमा संविधान जारी गरेको बताए ।
उनले भने, ‘यदि प्रचण्ड र बाबुरामले झगडा नगर्नुभएको भए र पहिलो संविधानसभा भंग नभएको भए त्यो दिन कस्तो संविधान बन्दै थियो भने, त्यो दिन मलाई अहिले पनि याद छ, नेपालमा ७ वटा होइन, ११ वटा प्रदेश रहन्थ्यो । नेपालमा जम्मा ३०० वटा मात्रै स्थानीय तह रहन्थ्यो । अहिले भएकोभन्दा कम्तीमा पनि ५ गुणा बढी अधिकार भएको प्रदेश बन्दैथियो । नेपालमा अहिलेको जस्तो संसदीय व्यवस्था होइन, फ्रान्सको जस्तो, संसद्ले निर्वाचित गरेको प्रधानमन्त्री र आमजनताले भोट दिएर प्रत्यक्ष निर्वाचित भएको राष्ट्रपतीय प्रणाली हाम्रोबीचमा टुंगिएको थियो । कांग्रेसले त्यो कुरा मानेको थियो ।’




प्रतिक्रिया