विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने एमालेसँगको सरकार छाड्छौं : महामन्त्री थापा

विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने एमालेसँगको सरकार छाड्छौं : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यदि विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने एमालेसँगको सरकार छाड्ने बताएका छन् ।

सोमबार प्यूठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यताबाट उफ्रेर कतै जाँदैनौं । तर यो ३ वर्षको सरकार जुन छ, यसको अधिकतम प्रयत्न गर्छौं । नेकपा एमालेसँग मिलेर सरकार चलाइरहँदा केही शर्तहरू छन् । हामी यदि विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने सरकार छाड्छौं तर कानूनको शासनमा सम्झौता गर्दैनौं ।’

एमालेसँग भएको सहमति कार्यान्वयनमा कांग्रेसले कुनै चकचक नगर्ने उनले बताए । उनले भने, ‘२०७९ सम्म हाम्रो प्रयास, हाम्रो प्रयत्न, हाम्रो तर्फबाट इमान्दारिता रहन्छ । अहिले भएको समझदारी कायम गर्ने कुरामा रहन्छ । हामी कुनै चकचक गर्दैनौं । हामी कुनै उपद्रो गर्दैनौं ।’

आधारभूत अधिकारका लागि सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने उनले बताए । उनले भने, ‘प्रजातान्त्रिक अधिकार, तपाईं र मेरो आधारभूत अधिकार छ, त्यो अधिकारसँग सम्झौता गर्नुपर्‍यो भने कांग्रेसले सरकार छाड्छ ।’

महामन्त्री थापाले केन्द्रदेखि जिल्लासम्म एमालेसँग बराबर सम्बन्ध चाहेको बताए । उनले भने, ‘नेकपा एमालेसँग कांग्रेस बराबरको सम्बन्ध चाहन्छ । न हामी एमालेलाई हेप्छौं, न हामी एमालेसँग हेपिन्छौं । न माथि न तल । केन्द्रमा पनि र जिल्लामा पनि त्यही व्यवहार चाहन्छौं । हामीलाई कहीँकतै दुव्र्यवहार भयो भने त्यो सहेर नेपाली कांग्रेस बस्दैन । यो कुरामा हामी प्रस्ट हुनु आवश्यक छ ।’