काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गणतन्त्र र संघीयता कांग्रेसको अवधारणा भएकाले यसमा १ इन्च पनि दायाँबायाँ नहुने बताएका छन् ।
सुनसरीको इनरुवामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको पक्षमा बोल्दा आफूले राजद्रोहको मुद्दा लागेको स्मरण गरे ।
उनले भने, ‘नेपाली कांग्रेस विभाजन हुँदा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक २ पार्टी भयो । गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले काठमाण्डुमा मात्र विकास भयो, अब विकेन्द्रीकरणमा जानुपर्ने भन्दै प्रदेशको अवधारणा विकास गर्यो । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकले नेपाललाई संघीयतामा लैजाने निर्णय गरेको हो । त्यसैले संघीयता कांग्रेसको अवधारणा हो । यो सही ढंगले चलेको छैन तर चलाउन सकिन्छ । त्यसमा कांग्रेस दृढ संकल्पित छ ।’
उनले कांग्रेसका जनतप्रतिनिधिले गरेका राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए । काम मात्र गरेर नहुने र प्रचारमा पनि ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘ठीक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहा पाउँदैनन् । त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यान दिनुपर्छ । जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताबारे पार्टीमा संवाद गर्न जरुरी छ । संवाद र छलफलले मात्र संगठन मजबुत हुन्छ ।’
संविधानभित्र रहेर जनताको अपेक्षा पूरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभूति दिलाउन सरकार अग्रसर हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया