काठमाण्डु – संसद्को ठूलो दल नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रमुख सत्ता सहयात्री हो । तर आफ्नै सरकार हुँदा पनि कांग्रेसका सांसदहरूमा रहेको छटपटी छताछुल्ल भएको छ ।
आपराधिक घटनामा पक्राउ परेर धरौटीमा छुटेकी सांसद माया राईले बैठकमा भावुक प्रस्तुती दिएपछि सबै स्तब्ध बने । सरकारको कार्यशैलीप्रति असन्तुष्टिका श्वर सुनिएकै थिए ।
यसै अवस्थालाई कांग्रेस महामन्त्री गगनकुमार थापाले सार्वजनिक कार्यक्रममै व्यक्त गरेका छन् । महामन्त्री थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको बताए ।
बीपी कोइरालाको जीवनकथामा आधारितक पुस्तक ‘सान्दाजु’को लोकापर्ण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीभित्र गुनासो रहेको बताए । ‘नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर, एउटा अवसर पनि छ भनेर म भनिरहेको छु,’ महामन्त्री थापाले भने ।
लामो समयदेखि टेक्निकल र ब्युरोक्रेटिक कुरा गरिएको भए पनि यस पटकको घटनाले फरक अनुभव गराएको उनले बताए । उनले भने, ‘यस पटकको घटनाले हामीलाई के देखाइदिएको छ, चुनाव जितेका छौं । नेपालको ठूलो पार्टी हौं हामी । हामी सबैतिर सरकारमा छौं । नभएको ठाउँ नै छैन । अहिले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो,’ महामन्त्री थापाले भने, ‘सबै हाम्रो । गभर्नर हाम्रो, ऊ, हाम्रो त्यो हाम्रो । जताततै हाम्रो । यस्तो बेलामा खुसी हुनुपर्ने हो नि कांग्रेस ! सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? यसले के देखायो भने हामीले खोजेको यो होइन ।’
यसैबीच, कांग्रेस कास्की क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसमा प्रवक्ता डा. प्रकाशशरण महतले अहिले सत्ता गठबन्धनभित्र केही असन्तुष्टि रहेको बताए । उनले भने, ‘अहिले गठबन्धनको सरकार छ । ओलीजी जस्तो प्रधानमन्त्री हुनुहुन्छ । सबै कुरा हुँदैन । केही त होला नि ! सबै नभए पनि ५० प्रतिशत त हो नि ! अहिलेको गठबन्धनप्रति हाम्रा पनि केही असन्तुष्टिहरू छन् । नभएको होइन, हामीले भनिरहेका छौं । हामीले एमाले नेतृत्वलाई पनि भनेका छौं ।’
सरकारका साझा कार्यक्रम बनाएर बनेको सत्तारुढ गठबन्धनको प्रमुख उद्देश्य संविधान संशोधन भनिएको थियो । पछिल्लो समय संविधान संशोधनका लागि सरकारले कुनै प्रक्रिया अगाडि बढाएको देखिँदैन । सरकारले अपेक्षाकृत काम गर्न नसकेको कांग्रेस नेताहरूको गुनासो छ ।




प्रतिक्रिया