नेपालगञ्ज – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताएका हुन् ।
महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको बताए । उनले ५ वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको बताउँदै उनले संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गरेका छन् ।
‘अब एउटा पार्टीले बहुमत ल्याउनुपर्छ, त्यसका लागि संविधान संशोधनको विकल्प छैन,’ उनले भने ।
उनले संघ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै संघमा १०–१५ जना र प्रदेशमा ३–५ जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गरे । महामन्त्री थापाले नेपालको संघीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताएका छन् ।




प्रतिक्रिया