काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्तिशाली सरकारले १ वर्ष खेर फालेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री केपी ओली सरकार टिक्नु नै ठूलो कुरा हो भनेर बसिरहेका टिप्पणी गरे ।
‘कांग्रेस र एमाले मिलेर बनेको सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो, त्यसमा हामी नराम्रोसँग चुकेका छौं । केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौं । मेरो चिन्ता १ वर्ष खेर गइसक्यो, अर्को १ वर्ष खेर नफालौं,’ उनले भने ।
उनले प्रधानमन्त्री ओली सरकार टिक्नु नै खुसीको कुरा भनेर आनन्दले बसिरहेका टिप्पणी गरे । उनले भने, ‘हामीले १ वर्षको प्रारम्भमा राम्रो गर्यौं । सुरुमा उत्साह पनि थियो, सुधारको प्रयास पनि गर्यौं हामीले । त्यसपछि हामी सरकार टिक्नु नै खुसीको कुरा हो भनेर आनन्दले बस्यौं । जसले गर्दा हाम्रो पछिल्लो ६–७ महिना त उपलब्धिहीन नै बन्यो । १ वर्ष जस्तो गर्नुपर्ने थियो, त्यसमा हामी चुक्यौं । कसैलाई दोषी दिएर हुँदैन ।’
अबको अर्को वर्ष सरकारलाई सफल बनाउन कांग्रेसको तर्फबाट के–के गर्नुपर्छ, त्यो गर्न कांग्रेस तयार रहेको उनले बताए । संघका मन्त्री, प्रदेशका सरकार फेर्ने भए पनि तयार रहेको भन्दै उनले सरकारको उद्देश्य प्रस्ट पार्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया