काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदीप गिरीले कुनै देशको सीमा र सिमानाभन्दा ठूलो कुरा भावना र समस्यामा केन्द्रित हुनुपर्ने विचार राख्ने गरेको प्रसङ्ग कोट्याएका छन् ।
शनिबार वीरगञ्जमा आयोजित ‘प्रदीप गिरीको सम्झनामा आत्मा र संघर्ष’ नामक कार्यक्रममा बोल्दै उनले प्रदीप गिरीले बीपी कोइरालाबारे लेखेका पुस्तकको सम्पादकीयबाट नै सिमाना र राष्ट्रियताको परिभाषा बुझ्न सकिने बताए ।
गिरीले बीपीको युक्तिलाई कतै पनि नछाडेको बताउँदै राष्ट्रियता भनेको माटोभन्दा पनि ठूलो हो भन्दै आफ्नो लागि राष्ट्रियतालाई केन्द्रमा राखेर विचार व्यक्त गर्ने गरेको सुनाए ।
थापाले अगाडि भने, ‘प्रदिप गिरी दाइसँग राम्रै बहस छलफल हुन्थ्यो । एकपटक उहाँले मलाई एउटा पुस्तक पठाउनुभएको थियो । एकदिन धापासीको घरमा बोलाउनुभयो । सबै कुरा गर्नुभयो र हामीलाई प्रधानमन्त्री बन्ने इच्छा छ भनेर सोध्नुभयो । हामीले दाइ पहिला बन्नुहोस् भन्यौं । उहाँले म नेपालको प्रधानमन्त्री बन्ने भए तिमीहरूलाई प्रस्ताव गर्ने थिइनँ । किनकि सिंगो संसारकै अथवा एसियाकै प्रधानमन्त्री बन्न पाउने अवसर आए बन्ने थिए भनेर ठट्टा गर्नुहुन्थ्यो । त्यसपछि हामीले छलफलबाट के निष्कर्ष निकाल्यौं भने उहाँमाथि ठूलो प्रभाव लोहियाको पायौं । लोहियाको वर्ल्ड कर्भमेन्ट अर्थात् देशको सीमाभन्दा माथि हुनुपर्ने सोच उहाँमा थियो । देशहरूको वाउड्रिज हुनुहुँदैन भन्ने थियो । सीमाहरू भनेको त धेरैपछि मानिसहरूले बनाएका हुन्, सीमाहरू भनेका बनाइएका हुन् र त्यसलाई भत्काएर त्योभन्दा माथि नजरिया बनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँहरूको बिल्कुलै फरक धारणा थियो । उहाँ र मेराबीच धेरै भिन्नताहरू थियो ।’
‘जतिबेला लिम्पियाधुरा र लिपुलेकको प्रसङ्ग अघिल्लोपटक केपी ओली नेतृत्वकै बेला उठ्यो । त्यो विषय उठ्दा कांग्रेसको तर्फबाट पुन: नक्सांकन गर्ने निर्णय भयो र त्यसबारे उहाँसँग धेरै छलफल भयो । प्रदीप गिरिको सोचाइ सीमाना वारिपारी बस्ने मानिसका बारेमा फरक थियो । यसै सन्दर्भमा बीपी कोइरालाको पनि एउटा भनाइ थियो कि राष्ट्र, राष्ट्रभित्र बसेका मानिसहरू त्यो समस्यासँग जुध्दा जुन भावना आउँछ, त्यो नै राष्ट्रियता भन्नुहुन्थ्यो । मेरा लागि राष्ट्रियता भनेको माटोभन्दा पनि ठूलो नागरिकका समस्याहरू हुन्छन् भन्नुहुन्थ्यो । त्यसैले प्रदीप गिरिले बीपीको बाटो छाड्नुभएको छैन,’ गिरीका बारेमा प्रस्ट पार्दै भने ।
महामन्त्री थापाले कुनै देशको सिमाना हुँदैन भन्ने गरेको प्रसङ्ग भनेको केन्द्रविन्दुमा जनता हुनुपर्ने धारणा रहेको स्पष्ट पारे । कुनै देशको माटोभन्दा पनि ठूलो भनेको भावना र समस्या हुनुपर्ने गिरीको सोच रहेको बताए ।




प्रतिक्रिया