स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउने गगन थापाको घोषणा (भिडियो)

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउने गगन थापाको घोषणा (भिडियो)


काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा ल्याउने घोषणा गरेका छन् ।

आइतबार एक भिडिओ सन्देश जारी गर्दै थापाले ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने बताएका हुन् ।

उनले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय बीमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको बताए ।

उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको भन्दै थापाले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता रहेको औँल्याएका छन् ।

उनले भनेका छन् ‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो,हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’ स्वास्थ्य बीमा सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले धेरै बिरामीलाई भेटेर समस्या बुझेपछि यो योजना अघि सारेको बताए । उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको ।’

थापाले स्वास्थ्य बीमा सुधारका लागि चारवटा मुख्य आधारस्तम्भ प्रस्तुत गरेका छन् । पहिलो आधारका रूपमा उनले ‘विश्वव्यापी पहुँच’ (युनिभर्सल कभरेज) लाई लिएका छन् ।

दोस्रोमा अनौपचारिक क्षेत्रलाई समेट्दै प्रत्येक नेपालीको अनिवार्य बीमा गरिने र प्रिमियम तिर्न नसक्ने अति विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिने उनले बताए । यसका लागि रक्सी, चुरोटजस्ता वस्तुमा विशेष कर लगाएर सो रकम सिधै स्वास्थ्य बीमा कोषमा जाने व्यवस्था मिलाइने उनको योजना छ ।

तेस्रोमा तीन तहका सरकारका कामलाई प्रणालीगत रूपमा एकीकृत गर्ने योजना रहेको उनले सुनाएका छन् । चौथोमा ‘गभर्नेन्स’को विषय रहेको उनले औँल्याए । ‘यतिधेरै चुहावट छ, यसलाई रोक्ने उपाय खोज्नुपर्छ,’ उनले भने, ‘रियल टाइम डिजिटलाइजेन गर्नेमा हामी छलफल गरिरहेका छौँ ।’

चौथोमा ‘गभर्नेन्स’को विषय रहेको उनले औँल्याए । ‘यतिधेरै चुहावट छ, यसलाई रोक्ने उपाय खोज्नुपर्छ,’ उनले भने, ‘रियल टाइम डिजिटलाइजेन गर्नेमा हामी छलफल गरिरहेका छौँ ।’

उनले अगाडि भनेका छन् यसमा सरकारको जिम्मेवारी छ । यो जिम्मेवारी पूरा गर्न स्वास्थ्य बीमाको कार्यक्रम नै हो । यसमा हामीले योजना बनाएका छौँ ।’