काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही-४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।सोमबार थापाले सर्लाही ४ का लागि छुट्टै प्रतिज्ञापत्र ल्याएका हुन् ।
थापाले ९ बुँदे ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ सार्वजनिक गरेका छन् । जसमा विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन् ।
स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कापी कलम अभियान,सबल छोरी अभियान,स्वस्थ नागरिक अभियान,कृषि उत्थान, किसान गौरव अभियान,मिसन रोजगारी अभियान, दशगजा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन् ।
महिलाका लागि सहुलियत कर्जा, घरेलु हिंसा र बालविवाह विरुद्ध अभियान, दलित समुदायका लागि शिक्षा र रोजगारी कार्यक्रम तथा स्थानीय भाषा, कला, संस्कृति र धार्मिक स्थल संरक्षणका कार्यक्रम पनि प्रतिज्ञा पत्रमा समेटेका छन् ।
यसैगरी, मुसहर, चमार, डोम, पासवान, खत्वे लगायतका दलित समुदायमा भएको असमानताको अन्त्य गरी दलित समुदायको उत्थानका लागि थापाले ‘दलित अधिकार, समता र न्याय अभियान’को अवधारणा अघि सारेका छन्।
सबै स्थानीय तहका ५१ वटै वडाका समस्याको सूची बनाएको र त्यसमा काम गर्ने उनले जनाएका छन्।




प्रतिक्रिया