कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सभापति थापा सुर्खेत आउने

कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सभापति थापा सुर्खेत आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसले सुर्खेतमा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ ।

प्रतिज्ञापत्र सार्वजनिकपछि कांग्रेसको कर्णालीमा दोस्रो प्रदेशस्तरीय आमसभा हो ।

बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले जानकारी दिए ।

आमसभाका लागि कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरूलाई सुर्खेत आउन कांग्रेसले आह्वान गरेको छ ।

सुर्खेतमा हुने आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा माहोल बनाउन मदत पुग्ने कांग्रेसको बुझाइ छ । आमसभाको प्रचारप्रसार व्यापक गरिएको र ठूलो संख्यामा मानिसहरू सभामा सहभागी हुने महामन्त्री केसीले बताए । आमसभाका लागि उपसभापतिद्वय शर्मा र भुसाल काठमाण्डुबाट र सभापति थापा सर्लाहीबाट सुर्खेत आउने कार्यक्रम छ ।

सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला हो । खड्काले चुनाव लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा बिष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् । आफ्नै भाइ चुनाव लडेका भए पनि खड्का चुनाव प्रचारमा सुर्खेत आएका छैनन् ।

विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि त्यसविरुद्ध निर्वाचन आयोग र अदालत गएका खड्कालाई चुनाव प्रचारमा आउन नसकेको बताइएको छ ।