मध्यपूर्वको तनावप्रति गगन थापाको चिन्ता : नेपालीको सुरक्षा र उद्धारका लागि आग्रह

मध्यपूर्वको तनावप्रति गगन थापाको चिन्ता : नेपालीको सुरक्षा र उद्धारका लागि आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा संवेदनशीलता बढाएको बताएका छन् ।

इजरायल र इरानबिचको बढ्दो द्वन्द्वका कारण मध्यपूर्वी देशहरूमा रहेका लाखौँ नेपालीहरू प्रभावित हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

सभापति थापाले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई परिस्थितिबारे सुसूचित रहन र उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले स्थानीय सुरक्षा नियमहरूको पूर्ण पालना गर्न र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहन सबैलाई अपिल गरेका छन् ।

‘यो परिस्थितिमा आफ्नो ख्याल गर्नुहोला र सुरक्षा मापदण्डहरूलाई गम्भीरतापूर्वक लिनुहोला,’ उनले फेसबूकमा लेखेका छन् ।

सभापति थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र मध्यपूर्वी देशहरूमा रहेका नेपाली राजदूतावासहरूलाई तत्काल सक्रिय हुन आग्रह गरे । उनले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिन र उनीहरूको तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

थापाले कुनै पनि आपत्कालीन अवस्थामा नेपाली नागरिकहरूलाई आवश्यक पर्ने सहयोग र उद्धारका लागि सरकारी संयन्त्रहरू तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । मध्यपूर्वमा रहेका नेपालीहरूको ठूलो संख्या र त्यहाँको जटिल भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै सरकारले कूटनीतिक च्यानलमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको माग छ ।