काठमाण्डु –नेपाली कांग्रेसका महामन्त्रीद्य गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा आगामी निर्वाचनमा चुनावी गठबन्धन अनुपयुक्त हुने धारणा राखेका छन् । जारी केन्द्रीय समिति बैठकमा थापा र शर्माले पेस गरेको प्रतिवेदनमा चुनावी गठबन्धन गर्न नहुने धारणासहितको प्रतिवेदन पेस गरेका हुन् । गत पुसमा सम्पन्न महासमिति बैठकमा पेस गरेको आफ्नो समसामयिक राजनीतिक प्रतिवेदनमा संशोधन गर्दै चुनावी गठबन्धन अनुपयुक्त हुने उल्लेख गरेका छन् ।
महामन्त्री थापाले पार्टीले कुनै पनि चुनावी गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् ।
बैठकमा पेस गरिएको सांगठानिक प्रस्तावमा थापाले लेखेका छन्, ‘निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचनपछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ भन्ने कुरा नेपाली कांग्रेस ठान्दछ । अतः नेपाली कांग्रेसले तत्कालिक परिस्थिति र आवश्यकता अनुसार संविधान बमोजिम सरकार बनाउनका लागि अन्य दलहरूसँग तालमेल र सहमति गर्नेछ, त्यसका लागि पहलकदमी लिनेछ। तर, निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’
महामन्त्री शर्माले बिहिबार केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले संशोधित प्रतिवेदन पेस गर्दै चुनावी गठबन्धन अनुपयुक्त भएको उल्लेख गरेका छन् ।
फागुन २०८० मा भएको महासमिति बैठकका क्रममा कांग्रेसमा चुनावअघि गठबन्धन गर्ने वा नगर्नेबारे चर्को बहस भएको थियो । महामन्त्री गगनकुमार थापा आगामी चुनावमा गठबन्धन नगर्ने घोषणा गरेर जानुपर्ने प्रस्ताव राखेका थिए । दुईथरि मत आएपछि महामन्त्री शर्माले भने चुनावी गठबन्धनबारे उपयुक्त समयमा निर्णय लिनुपर्ने तर्क गरका थिए । ‘निर्वाचन आउनुभन्दा ४ बर्षअघि नै निर्वाचनबारे छलफल गर्नु यद्यपि आवश्यक विषय होइन,’ शर्माले लेखका थिए ।
१७ असारमा कांग्रेस र एमालेबीच भएको नयाँ सहमति बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । त्यसपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा बिहीबार महामन्त्री शर्माले अहिलेको सत्ता समीकरण अनुकूल प्रतिवेदन पेश गरेका छन् । चुनावपछि सरकार निर्माणका लागि गठबन्धन स्वभाविक हुने तर चुनावअघि गठबन्धन गरेर मत माग्नु अनुपयुक्त हुने अनुभव साझा निष्कर्ष रहेको शर्माले लेखेका छन् ।
कांग्रेसमा दुई महामन्त्रीको यस्तो तर्क रहे पनि उनीहरूको प्रतिवेदन कार्यान्वयन हुनेमा शंका छ । किनकि कांग्रेसमा सभापतिले चाहेका निर्णय अहिलेसम्म लागु भएका देखिन्छन् । अहिलेसम्म देउवा एक्लै चुनाव लड्ने पक्षमा खुलेर बोलेका छैनन् ।
देउवामात्र होइन संस्थापन पक्षका नेताहरू पनि गठबन्धन गर्ने, नगर्ने पक्षमा खुलेका छैनन् । कांग्रेसको केन्द्रीय समितिमा ८५ प्रतिशत जति मत संस्थापनको रहेकाले दुई महामन्त्रीको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका छ ।
कांग्रेसमा दुवै महामन्त्री संस्थापन इतर समूहका हुन् ।




प्रतिक्रिया