‘गोकुल बाँस्कोटालाई बलीको बोका बनाइयो’

‘गोकुल बाँस्कोटालाई बलीको बोका बनाइयो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली यतीवादी देखिएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्री अ‍ोली पहिलो माक्र्सवादी, बीचमा समाजवादी र अहिले यतिवादी देखिएको बताए ।

उनले भने, ‘पहिले पहिले माक्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनु भएको छ ।’

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको संवादको अडियो प्रधानमन्त्रीले केही महिनाअघि सुनेको कुरा बाहिरिए पनि प्रधानमन्त्रीले थाहा छैन भनेर उम्कन नपाउने उनको भनाइ छ । प्रधानमन्त्रीले यसबारे संसदमा आफ्नो धारणा राख्न उनले आग्रह गरे ।

उनले सञ्चारमन्त्रीको विषयमा प्रधानमन्त्रीलाई थाहा नभए के थाहा छ भन्दै प्रश्न गरे । ‘सेक्युरिटी प्रेसको ठेक्कालगायत सबै ठेक्काबारे प्रधानमन्त्रीलाई थाहा थियो । अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो । बालुवाटारमा ऐना छ कि छैन ?’

नेता थापाले प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ बताएका छन् ।

नेता थापाले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ । तर उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ०६१ सालका सक्रिय राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ ।’