काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता प्राप्तिका लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता नगर्ने बताएका छन् ।
बुधबार प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण कार्यक्रममा उनले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नभएको भन्दै नेपाली कांग्रेसले सत्ताको लागि सम्झौता नगर्ने बताए ।
उनले भने, ‘कांग्रेस पार्टीले चुनाव लड्छ, जित्न कोसिस गर्छ । सत्तामा जान्छ, शक्तिको अभ्यास गर्छ । त्यसकारण चुनाव महत्वपूर्ण छ र जित्ने आशा राख्ने कुरा स्वाभाविक हो । तर त्यो सबै कुरा होइन । सत्ता र शक्तिमा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन । हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्नुपर्यो भने त्यसरी प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्योसँग सम्झौता गरेर सत्ता प्राप्त गर्ने वा सत्तामा टिकिराख्ने कुरा हाम्रो लागि कहिले पनि प्राथमिकताको विषय भएन ।’
प्रजातन्त्रमा संख्याको आधारमा गरिने निर्णय वैधानिक भए पनि संख्या छ भनेर जे पनि गर्न नपाइने भन्दै उनले प्रजातन्त्र चल्नको लागि बैधानिक मात्र भएर हँुदैन, वैध हुनुपर्ने बताए ।
उनले भने, ‘हामीले जहिले हिजोबाट सिक्ने हो । जनकल्याणको विषयलाई कांग्रेसले मूल विषय बनाउनुपर्ने छ । हामी निर्वाचन लडेर सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ । तर संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ र मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा निर्णय गरियो वैधानिक हुन्छ तर सबै पार्टीको सदस्यले स्वीकार गर्यो भने वैध हुन्छ । प्रजातन्त्र चल्नका लागि वैधानिक मात्र भएर हुँदैन, वैध हुनुपर्छ ।’
नेपाली समाजमा रहेको चरम असन्तुष्टि हटाउने कुरा आजको राष्ट्रिय मुद्दा भएको भन्दै उनले यसका लागि कांग्रेसभित्र आत्मविश्वास र शुद्धता आवश्यक हुने बताए । उनले भने, ‘आजको राष्ट्रिय मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्नेछ । कतिपय कुराहरू ठीक छैनन्, प्रायोजित छ । यो सबै कुरालाई बुझ्नुपर्ने छ र त्यसलाई सम्बोधन गरेर अगाडि बढ्ने कांग्रेसको जिम्मेवारी हो । यसका लागि कांग्रेसभित्रै नै आत्मविश्वास र शुद्धता चाहिएको छ । यसको लागि कांग्रेसले हामी कहाँबाट आएको हो भनेर फर्किएर हेर्नुपर्छ ।’
कार्यक्रममा गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले वर्तमान समयमा देखिएको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्थाको एउटा सुन्दर भवन नन्दप्रसाद जस्ता प्रजातन्त्रका सेनानीहरूले गर्दा सम्भव भएको भन्दै यो जगलाई सधैं स्मरण गर्नुपर्ने बताए । उनले भने, ‘हामी लोकतन्त्रको कुरा गर्छौं, राम्रो व्यवस्थाको कुरा गर्छौं । त्यो लोकतन्त्र र राम्रो व्यवस्था जुन आज मुलुकले प्राप्त गरेको छ । यो त्यत्तिकै आएको होइन तर यो व्यवस्था कसरी आयो त्यसको जग नै बिर्सिने हो भने त्यो व्यवस्था ढल्छ । त्यसकारण आज हामी जुन लोकतान्त्रिक व्यवस्थामा छौं, त्यो लोकतन्त्र प्राप्ति प्रजातन्त्रका सेनानीहरूले गर्दा भएको हो । आज हामी संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्थाको एउटा सुन्दर भवन देखिरहेका छौं, यसमा नन्दप्रसादजी जस्ता प्रजातन्त्रका सेनानीहरू जगको रूपमा रहनुभएको हुनाले निर्माण सम्भव भएको हो । त्यसकारण यो जगलाई हामीले सधैं स्मरण गर्नुपर्छ ।’

उनले कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताए । ‘नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसमा पनि समस्या हुँदैन र कांग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनेको कांग्रेसभित्र एकता एकता एकता नै हो,’ उनले भने ।
एकता कुनै अमूर्त विषय नभएको बताउँदै उनले लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने पनि बताए । उनले भने, ‘हामीले लोकतन्त्र, राम्रो व्यवस्थाको कुरा हामी गर्दछौं । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन । जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौं, त्यसको माटोभित्र जग हुन्छ । पिल्लरका रूपमा होस्, कि वालका रूपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौं तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदि त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ ।’
गृहमन्त्री लेखकले कांग्रेसका नेताहरू आफैं आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताए ।




प्रतिक्रिया