काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटालाई जवाफ फर्काएका छन् । उनले बाँसकोटासँग सूचना प्रविधि विधेयकका शब्द–शब्दमा छलफल गर्न आफू तयार रहेको बताएका हुन् ।
विधेयकको विरोधमा नेविसंघले बिहीबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा नेता थापाले छलफलका लागि कहाँ आउने भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई प्रश्न पनि गरेका छन् ।
‘विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी ? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने ?,’ थिापाले भने, ‘यो विधेयकको धारा(धारामा, दफा(दफामा छलफल गर्न तयार छु।’
मन्त्री बाँस्कोटाले विधेयक नपढी बोलेको प्रतिक्रिया दिएको उल्लेख गर्दै थापाले थपे, ‘माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो । प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो ? तयार छु । नपढी आयो भनेर हेप्नी हामीलाई ?’
उनले सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रता कुण्ठित हुने पनि बताए ।
‘केही दिनमा सदन सुरू हुन्छ त्यहाँ हामी यो विधेयक रोक्न पहल गर्छौं,’ उनले भने, ‘हामीलाई तागत दिनुहोस्। विद्यार्थी, विपक्षी दलका साथीहरू, पत्रकार र नागरिकहरू सडकमा आउनुहोस् ।’
सूचना प्रविधि विधेयकमा समेटिएकै कुरा फौजदारी कानुनमा रहेको पनि उनले बताए । लेख्न÷बोल्न पाउने हक सरकार समर्थितलाई मात्रै दिन खोजिएको पनि उनले दाबी गरे ।
‘यो हक सरकारसमर्थित अरिंगालहरूलाई मात्रै छ,’ उनले भने ।
आलोचना गर्नेलाई काम गरेर जवाफ दिन प्रधानमन्त्रीले सक्नुपर्नेमा कार्यकर्ता ‘अरिंगाल’ परिचाल गरेको उनले बताए ।
बोले भनें पाँच वर्ष जेल र जरिवाना लाग्छ भन्ने डरले नागरिक तर्सने पनि उनले बताए ।
विशेष सेवा विधेयक, प्रेस काउन्सिलको विधेयक अरू सबै विधेयक प्रधानमन्त्रीमा ल्याउने र प्रधानमन्त्री राजा बन्ने रणनीतिअनुसार अघि बढेको उनको आरोप छ । संसदमा सरकारको आलोचना गर्नेहरू थोरै रहेको भन्दै उनले सडकबाट जनताले दबाब दिन अनुरोध गरे ।
‘संसदमा हामी थोरै छौँ । संसदीय व्यवस्था टाउको गनेरै चल्नेहो । हामीले विरोध गरिरहँदा पनि संसदबाट उसले यी सबै विधेयकहरू पारित गर्न सक्दछ,’ उनले भने, ‘किनकि ऊसँग संख्याको तागत छ । हामी थोरै भए पनि लड्छौँ । हाम्रो संख्यालाई लागत सडकबाट चाहिएको छ । सडकको आवाजले संसदमा केपी ओलीलाई घुँडा टेकाउनुपर्छ ।’




प्रतिक्रिया